बुटवल प्रगतिनगरका सुकुम्बासीमा डोजर आतंकः बस्ती भत्किने डरले स्थानीय बासिन्दा त्रसित

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान अघि बढाउने निर्णय गरेसँगै प्रगतिनगर क्षेत्रका सुकुम्बासी बस्तीमा त्रास फैलिएको छ। वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयहरूमा ‘अब हाम्रो बस्तीमा पनि डोजर चल्ने हो कि?’ भन्ने चिन्ता बढेको हो।

देशका विभिन्न शहरमा अनधिकृत संरचना हटाउन डोजर प्रयोग भइरहेका घटनाहरूले बुटवलका सुकुम्बासीहरूलाई थप भयभीत बनाएको छ। विशेषगरी प्रगतिनगरका बासिन्दाहरू आफ्नो भविष्यप्रति अन्योलमा छन्।

नगरपालिकाले कार्यपालिका बैठकमार्फत पहिलो चरणमा पाँच स्थान पहिचान गरी अतिक्रमण हटाउने तयारी गरेको छ। यसका लागि वडा तहबाट संयन्त्र परिचालन गरिने जनाइएको छ। वडा नम्बर ४, ५, ६, ७, ८, ९ र ११ लाई आफ्नो क्षेत्रमा भएका अतिक्रमणको विवरण संकलन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। त्यसपछि सार्वजनिक सूचना जारी गरी निश्चित समयसीमा भित्र स्वेच्छाले संरचना हटाउन आग्रह गरिनेछ। अटेर गरेमा मात्र डोजर प्रयोग गरिने बताइएको छ।

प्रगतिनगरकी आरती तामाङ डोजर चल्ने हल्लापछि रातभर निदाउन नसकेको बताउँछिन्। कमाएर ल्याउने छोराको मृत्यु भएपछि दुई ससना बच्चा छोडेर बुहारीले अर्कैसंग बिबाह गरिन् । आरती र आरतीका श्रीमान दुई नाती नातिनीका लागि दिनभरी ज्याला मजदुरी गर्छन् । बिहान बेलुकीको छाक टार्ने समस्याले छट्पटाएका उनीहरु बस्तीमा डोजर चल्ने हल्लाले थप चिन्तामा छन् ।

आरति भन्छिन्, ‘हाम्रो सम्पति भनेको नै यहि छाप्रो हो । यसमा पनि डोजर चल्यो भने कहाँ गएर बस्ने होला? यि बच्चालाई कहाँ लगेर राख्ने होला?’ उनी भन्छिन्, ‘हाम्रो सबै सम्पत्ति यही छाप्रो हो। यो पनि भत्कियो भने कहाँ जाने?’

२५ वर्षदेखि सोही बस्तीमा बस्दै आएकी पार्वती चौधरी पनि चिन्तित छिन्। ऋण लिएर बनाएको घर एक वर्ष नपुग्दै भत्काइने हल्लाले उनी आक्रोशित र निराश बनेकी छन्। ‘ऋण तिर्न नपाउँदै घर भत्काउने कुरा सुनिन्छ, अब कहाँ बस्ने? रिण कसरी तिर्ने?’ उनले प्रश्न गरिन्।

त्यस्तै सोही स्थानकी सुर्जमाया खड्की पनि भविष्यप्रति चिन्तित छिन्। न्यून आय र स्वास्थ्य समस्याबीच बाँचिरहेका उनीहरूका लागि डोजरको हल्ला झनै पीडादायी बनेको छ।

दुई कोठाको टिनको छाना मुनी बस्दै आएकी उनी घर भत्किने डर चिन्ताले रातभर सुत्न नसकेको बताउँछिन् । ‘रास्वपाको सरकार आयो भने सुकुमबासीहरुको मर्म बुझ्छ भनेर घण्टीमा भोट होलेर जितायौँ । अहिले उनीहरुकै सरकार आएपछि हाम्रो उठिबास लगाउने भयो,’ उनले दुखेसो पोखिन् ।

उनी मात्रै होइन, सो बस्तीका डेडसय भन्दा बढी घर धुरी सुकुमबासीहरु बस्तीमा डोजर चल्ने हल्लाले पीडामा छन् । सरकारले राहत दिनुको साटो आहत दिएको सुकुम्बासीहरुको भनाई छ ।

यता, बुटबल उप महानगरपालिकाले भने पहिलो चरणमा वडा नम्बर ४ को शोभा बोर्डिङ क्षेत्र, वडा नम्बर ७ को विद्यालय आसपास, वडा नम्बर ८ का सडक मापदण्डभित्रका संरचना तथा वडा नम्बर ११ को बुद्धनगर र रंगशाला आसपास अतिक्रमण हटाउने योजना रहेको छ। विभिन्न स्थानमा ७ देखि ३५ दिनसम्मको समयसीमा दिइने बताएको छ ।

यसअघि वडा नम्बर ४ अन्तर्गत उच्च अदालत आसपासको सार्वजनिक जग्गा खाली गराउन डोजर प्रयोग गरिसकिएको छ, जसका कारण अन्य बस्तीमा पनि यस्तै कारबाही हुने आशंका बढेको हो।

तर। नगरपालिकाले प्रगतिनगर सुकुम्बासी बस्तीमा तत्काल डोजर चलाउने औपचारिक निर्णय नभएको स्पष्ट पारेको छ। अभियान मुख्यतः सार्वजनिक जग्गा अतिक्रमणमा केन्द्रित रहेको र सबै सुकुम्बासी बस्ती हटाइने अवस्था तत्काल नरहेको जनाइएको छ।

राष्ट्रिय भूमि आयोगमार्फत सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत संकलन भइसकेको छ र वास्तविक सुकुम्बासी पहिचान तथा जग्गा व्यवस्थापन प्रक्रिया अघि बढिरहेको छ।

स्थानीयका अनुसार प्रगतिनगर लगायतका बस्तीहरू २०–२५ वर्षदेखि बसोबास हुँदै आएका छन् र आधारभूत सेवा–सुविधा समेत उपलब्ध छन्। त्यसैले सीधै डोजर प्रयोग गर्नुको सट्टा व्यवस्थापन र पुनर्स्थापनामा ध्यान दिनुपर्ने आवाज उठ्दै आएको छ।

यद्यपि देशका अन्य सहरमा भएका डोजर कारबाहीका घटनाले बुटवलका सुकुम्बासीहरूमा त्रास बढाएको भए पनि प्रगतिनगरमा तत्काल त्यस्तो कदम चालिने निश्चित भइसकेको छैन।

 

सिफारिस