प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । चीनबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो । आफूलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरिएको जानकारी प्राप्त भएको तर पत्र बुझ्न र कार्यभार सम्हाल्न बाँकी रहेको सापकोटाले जानकारी दिए । मंगलबार सार्वजनिक विदा परेकाले सम्भवतः सापकोटाले बुधबार कार्यभार सम्हाल्नेछन् ।

सापकोटा यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप–कार्यकारी निर्देशक थिए । उनी पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरासमेत हुन् ।

सापकोटा त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गर्दै आएका छन् । साथै, त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गदै आएका छन् । उनी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा पनि जानकार मानिन्छन् ।