
काठमाडौं । वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका थिए,‘एउटा तस्विरको मुल्य हजारौँ शब्दभन्दा माथि हुन्छ’ । त्यस्तै तस्विर शुक्रबार सामाजिक संजाल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक भएको तस्विरमा एउटा बालिका आफ्नो बाबुलाई बोलाइरहेकी छिन् । बाबालाई हेरेर उनी खुसी भएजस्तो पनि देखिन्छ । तर, तस्विर भावले हजारौँ शब्द भनिरहेको छ ।
तस्विरमा देखिएकी बालिका ४ वर्षिय साहारा शाक्य हुन् । उनको अगाडी अर्धचेत अवस्थामा देखिएका व्यक्ति सहाराका बाबु सजिलमान शाक्य हुन् । गत भदौ १५ गते स्विमिङ्ग गर्न पुल्चोकस्थित होटल स्क्वायरमा स्विमिङ्गको क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका सजिलमान हालसम्म कोमामा छन् । १ महिनासम्म मेडिसिटि अस्पतालको कोमामा राख्दा पनि उपचार सम्भव नभएपछि उनको परिवारले माइतिघरस्थित अन्नूपूर्ण न्युरो अस्पतालमा राखियो । तर, २ महिना त्यहाँ राख्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अहिले उनलाई शाक्य परिवारले घरमै राखेर उपचार गरिरहेको छ ।
सार्वजनिक भएको तस्विरमा सहाराले आफ्ना बाबुसँग साक्षात्कार गर्न खोजेकी छिन् । तर, अचेत अवस्थामा रहेका सजिलमानले कुनै जवाफ दिन्छन्की भनेर उनी पर्खिरहेको जस्तो तस्विरले आभास गराउँछ ।
‘यो कति दर्दनाक छ की एउटी छोरी आफ्नो बाबासँग कुराकानी गर्ने कोशिस गरिरहेकी छिन् । तर, उनी हरेक समय निराश हुन्छिन् किनकी उनले कुनै पनि सवालको जवाफ पाइरहेकी छैनन् । उनले कुनैपनि कुरा सम्झनका लागि उनी सानी छिन् । उनले भनिरहेकी थिइन्,‘पापा त स्विमिङ्ग पुलमा अड्कियो ।’ तर उनले कुनै पनि जवाफ पाइनन्,’ सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको तस्विरमा लेखिएको छ,‘कसैको लापरबाहीले हाम्रो जीवनलाई दुखमा बदलिदियो । यसको जवाफ दिन त्यति सजिलो छैन की उनको बाबा अब उनको बाबा उनीसँग कुरा गर्न सकिरहेका छैनन् । जसलाई उनी निकै प्रेम गर्थिन् । अर्थात उनको बाबा अब कहिले उठ्छन् ?’
पुल्चोकस्थित होटल स्क्वायरका संचालकहरुले स्विमिङ्ग पुलमा लापरबाही पूर्वक करेन्ट छाडी गम्भिर लापरबाही गरेको भन्दै उनकी पत्नि रजिना मानन्धरले जाहेरी दिएकी छिन् । उनकै जाहेरीको आधारमा प्रहरीले होटल संचालक रोमी अर्याल र सविता भण्डारी विरुद्ध पक्राउ अनुमति लिएको छ । प्रहरीले सवितालाई पक्राउ पनि गरेको थियो । तर, प्रहरीले कमजोर कानुनी आधार टेकेर पक्राउ गरेका कारण उनी तीन दिनमै छुटिसकेकी छिन् । त्यस्तै रोमी अर्याल अझै पनि फरार छिन् । उनलाई पक्राउ गर्न प्रहरीले हालसम्म सकिरहेको छैन ।
सजिलमानलाई न्याय दिनुपर्ने माग गर्दै ललितपुरबासी आन्दोलित बनेका छन् । होटल संचालकहरुलाई शक्तिकेन्द्रको आडमा उन्मुक्ति दिएको भन्दै पीडितहरु आन्दोलनमा उत्रिएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ चिकित्सकहरुको टोलीद्वारा अनुसन्धान हुँदा सजिलमानमाथि करेन्ट नै लागेको पुष्टि भएको थियो । तर, करेन्ट लागेको पुष्टि हुँदा पनि होटल संचालकहरु भने आफ्नो कमजोरी स्विकार गर्नसम्म तयार छैन ।