बमजनलाई हत्कडीसहित मिडियामा देखाएको सीआइबीले चौधरीको तस्विर समेत लुकायो

दियो पोस्ट  

काठमाडौं । नेपालमा सानालाई ऐन र ठूलालाई चैन भन्ने उखान चर्चित छ । कानुन सबैलाई बराबर लागु नभएपछि यस्तो उखान नेपाली समाजमा लागु भएको हुनुपर्छ । यस्तै उखानलाई चरितार्थ हुनेगरि प्रहरीले अभियुक्त सार्वजनिकमा दोहोरो नीति लिने गरेको छ । सामान्य नागरिकलाई हत्कडीसहित सार्वजनिक गरेर घटना विवरण र अपराधको कथा पत्रकारसामु पढाउने प्रहरीले ठूला र भिआइपी पक्राउ गर्दा भने तस्विर समेत सार्वजनिक गर्दैन । त्यसमा पनि जात र वर्ग विशेष रुपमा हेरिने गरेको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सानु भण्डारीसहित सामान्य नागरिकको विवरण प्रहरीले सार्वजनिक गर्यो । तर, त्यही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोप बहादुर रायमाझी, सचिव टेक नारायण पाण्डे लगायतलाई सार्वजनिक समेत गरिएन ।
हाल प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले पनि अभियुक्त सार्वजनिक गर्दा दोहोरो नीति लिएको छ । भेप मार्फत सुन तस्करी प्रकरणमा अन्यु अभियुक्तको विवरण सार्वजनिक गरियो । तर, माओवादी नेता कृष्ण बहादुर महराको छोराको नाम सीआइबीले सार्वजनिक समेत गरेन । सोही प्रकरण सेटिङ्ग मिलाउने भन्दै पैसा डिल गर्ने रितु राई र निरेश चौधरीको तस्विर आँखा छोपेर सीआइबीले नै सार्वजनिक गरिदियो तर, त्यही काण्डमा पक्राउ परेका पत्रकार डिल्ली पाण्डेको नाम समेत लुकाइयो ।
पछिल्लो समय पक्राउ परेका धर्मगुरु राम बहादुर बम्जनलाई हत्कडीसहित संचार माध्यमको भिड बोलाएर सीआइबीले सार्वजनिक गर्यो । तर, हिजो विहिबार मात्रै पक्राउ परेका अर्बपति व्यापारी विनोद चौधरीका भाई अरुण चौधरीलाई पनि विशेष छुट दिएको छ सीआइबीले । शुक्रबार सीआइबीले पठाएको विज्ञप्तिमा अरुण चौधरीको तस्विर समेत छैन । पत्रकार सम्मेलनमा पनि उनी देखिएनन् । उनीसहित पक्राउ परेका अभियुक्तलाई ग्राण्डी अस्पताल पठाइएको थियो । पक्राउ परेका अभियुक्त सार्वृजनिक कार्यक्रममा डिआइजी दिनेश आचार्यले मात्रै अभिव्यक्ति दिएका थिए । घटनापछि सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा पनि अरुण चौधरीको तस्विर छैन । अभियोग पुष्टि नहुँदै अपराधी करार गर्ने समाजका लागि सीआइबी वा प्रहरीको गतिविधिले समेत मलगल गरेको छ ।

सिफारिस