काठमाडौं । विश्व सामाजिक मञ्चको १६औं सम्मेलन आजदेखि सुरु भएको छ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको आयोजनामा पाँचदिने सम्मेलन काठमाडौको भृकुटीमण्डपमा सुरु भएको हो ।
भृकुटीमण्डपको प्राङ्गणमा विभिन्न संस्थाका स्टलहरु राखिएका छन् । सम्मेलनमा सहभागी विभिन्न संघसंस्थाका व्यक्तिहरुले भृकुटीमण्डप, भद्रकाली, सुन्धारा, रत्नपार्क हुदै भृकुटीमण्डपसम्म मार्च पास गरेका थिए । जसमा विभिन्न क्षेत्रका अधिकारकर्मीहरुले आआफ्नो क्षेत्रका हकहित र संरक्षणबारे विभिन्न नारासहित प्लेकार्ड बोकेका थिए । सम्मेलनमा सहभागी अभियन्ताहरुले जलवायु न्याय, नेपालको कृषि बचाउ बिचौलियाबाट अन्याय हटाऔ, स्वच्छ उर्जा आजको आश्यकता, स्वतन्त्र प्यालेस्टाइनलगायत प्लेकार्ड बोक्दै मार्च पास गरेका थिए ।
उक्त सम्मेलनमा विभिन्न ९२ मुलुक र नेपालभरबाट झन्डै ५० हजार मानिसको सहभागिता रहेको आयोजक पक्षले जनाएको छ । जसमा विभिन्न क्षेत्रका अधिकारकर्मीहरुको बाक्लो उपस्थिती रहेको छ । आयोजकका अनुसार हालसम्म अन्र्तराष्ट्रिय श्रम संगठन एसिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी मेघा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत वक्ताहरु सहभागी भएका छन् ।
उक्त सम्मेलनमा झन्डै १३ सय संस्थाका तर्फबाट विभिन्न विधामा आधारित ४ सय कार्यक्रमहरु दर्ता भएको जनाइएको छ । मञ्चले नवउदारवाद, भुमण्डलीकरण, पुँजीवाद, जलवायु संकट, पितृसत्ता, जातजाती, छुवाछुत तथा रंगभेद, यौनिकताका आधारमा हुने हिंसा, विभेद तथा द्धेषविरुद्ध सामुहिक आवाज उठाउदै आएको छ ।
पाँच दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न बहस तथा छलफल हुने आयोजक समितीले जनाएको छ । मञ्चले विभिन्न मुलुकहरुमा यस्तै किसिमको सम्मेलनहरु आयोजना गर्दै आएको छ । यस पटकको सम्मेलन भने नेपालको काठमाडौमा भइरहेको हो । मञ्चको पहिलो सम्मेलन ब्राजिलबाट सुरु भएको थियो ।