भारतीय मानव तस्कर : अमेरिका पठाउने भन्दै करिब एक महिनादेखि बन्धक

९ जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

दियो पोस्ट  

काठमाडौं । भारतीय नागरिकहरुलाई अमेरिका पठाउने भन्दै काठमाडौं ल्याएर बन्धक बनाएर राखेको आरोपमा एक नेपाली सहित पक्राउ परेका ९ जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरेर ९ जनालाई सार्वजनिक गरेको हो। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेहरुमा अब्दुल रहिम, इन्दुसिंह यादव, चरण जित सिंह, अशोक कुमार, मनिष कुमार मल्होत्रा, निपुन गुप्ता, मोहम्मद सविर मिया र नेपाली नागरिक रामचन्द्र शर्मा छन्।

उनीहरुले काठमाडौंको रातोपुलमा ११ जना भारतीय नागरिकलाई बन्धक बनाएर राखेका थिए। प्रहरीले बन्धक बनाएर राखेकाहरुको उद्धार गरेको थियो भने ८ जनालाई पक्राउ गरेको थियो। पीडित र पीडक दुवै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अमेरिका पठाउने भन्दै काठमाडौंको रातो पुलस्थित एक घरमा ल्याएर बन्धक बनाएर राखिएको थियो। बाहिर समेत निस्कन नदिई घरभित्रै उनीहरुलाई थुनेर राखिएको थियो। कोही आएर सोधिहालेमा सिरक डस्ना बनाउने मान्छे हो हामी भनेर जवाफ दिन भन्दै भारतीय मानव तस्करहरुले उनीहरुलाई सिकाएका थिए।

भारतीय मानव तस्करको गिरोहले भनेको नमाने उनीहरुलाई पाइपले पिट्दै यातना समेत दिने गरेको पीडितहरुले बताएका छन्। यो विषय बाहिर लगे जे पनि हुनसक्ने भन्दै धम्की समेत दिने गरिएको खुलेको छ। अमेरिका पठाउने भन्दै उनीहरुसँग ४० देखि ४५ लाख रुपैयाँ लाग्ने भन्दै ठगी गरिएको पाइएको प्रहरीले जनाएको छ।

नेपाल ल्याएर उनीहरु करिब एक महिनादेखि बन्धक बनाएर राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुबाट विभिन्न देशका मुद्राहरु, पासपोर्टहरु तथा नक्कली कागजात, रबर स्ट्याम्प समेत बरामद गरिएको प्रहरीको भनाई छ ।

TATA ADD

सिफारिस