सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली

दियो पोस्ट  

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्‍युरो (सिआइबी) को टोली पोखरा पुगेको छ।

प्रहरी स्रोतकाअनुसार सिआइबीले प्रहरी निरीक्षकको कमाण्डमा प्राविधिक टोली पोखरा पठाएर अनुसन्धान थालेको हो । माघ २४ गते ग्यालेक्सी टेलिभिजनका पूर्व साझेदार एवं पूर्वडिआइजी छविलाल जोशीको घरमा छापा मारेको थियो।

छापा मारेर प्रहरीले उनको घरबाट चारवटा सर्भर बरामद गरेको थियो। उक्त सर्भरमा भएका सूचना/विवरणहरू निकाल्नका लागि सिआइबीको सहयोग लिइएको स्रोत बताउँछ। सिआइबीको टोलीले यसमाथि काम गरिरहेको छ।

प्रहरीले छापा मारेको जोशीको घरमा कुनै समय सहकारीका अध्यक्ष जिबी राईले सञ्चालन गरेको नेचर हर्ब्स प्रालिको कार्यालय थियो।

सहकारी ठगीमा पक्राउ परेका व्यक्तिहरूमाथि बयान लिएर प्रहरी त्यस घरमा पुगेको हो। त्यहाँबाट महत्त्वपूर्ण दस्तावेजहरूको विद्युतीय अभिलेख फेला पारेको प्रहरीले जनाएको छ।

पूर्वडिआइजी जोशी ग्यालेक्सी टेलिभिजन चलाउने गोरखा मिडिया नेटवर्कका संस्थापक थिए। त्यसमा जिबी राईको ५० प्रतिशत र पूर्वडिआइजी जोशीको नाममा ३५ प्रतिशत शेयर थियो।

गोर्खा मिडियाको नाममा सूर्यदर्शन सहकारीबाट धितोबिना १ करोड, अर्कोपटक १ करोड ३० लाख ८९ हजार ऋण‍ दिएको फेला परेको थियो।

सहकारीबाटै नेचर हर्ब्स, नेचर नेक्स्ट लगायतलाई पनि करोडौं रूपैयाँ ऋण दिएको छानबिन प्रतिवेदनबाट खुलेको थियो।

यस ठगी प्रकरणमा प्रहरीले इन्टरपोलमार्फत् जिबी राई, थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ। यद्यपी उनीहरु अहिलेसम्म पक्राउ भने पर्न सकेका छैनन् ।

सूर्यदर्शन सहकारीका पीडितहरुले पछिल्लो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ३ जना र संस्था समेत गरी १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका छन्।

TATA ADD