अमेरिका-इरान तनाव बढेपछि इरानमा रहेका नेपालीलाई स्वदेश फर्किन सरकारको आग्रह

दियोपोस्ट संवाददाता  

काठमाडौं । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि नेपाल सरकारले इरानमा रहेका नेपाली नागरिकलाई जतिसक्दो चाँडो स्वदेश फर्किन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले इरान जान लागेका नेपालीलाई समेत हाललाई भ्रमण रद्द गर्न अनुरोध गरेको छ।

परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गर्दै इरानमा रहेका नेपालीहरूको सुरक्षालाई ध्यानमा राखेर यस्तो आग्रह गरिएको जनाएको छ। मन्त्रालयका अनुसार अवस्था थप जटिल हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सावधानी अपनाउन अनुरोध गरिएको हो।

मन्त्रालयका अनुसार हाल इरानमा रहेका नेपाली नागरिकको संख्या सीमित रहेको छ। उनीहरू अध्ययन, व्यवसाय तथा व्यक्तिगत प्रयोजनका लागि इरानमा बसोबास गर्दै आएका छन्। यद्यपि, नेपालीहरूको यकिन तथ्यांक संकलनको काम भइरहेको मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीलाई नजिकको कूटनीतिक नियोग वा मन्त्रालयसँग सम्पर्कमा रहन र आफ्नो विवरण अद्यावधिक गराउन आग्रह गरेको छ। आकस्मिक अवस्था सिर्जना भएमा आवश्यक सहयोगका लागि समन्वय गरिने मन्त्रालयको भनाइ छ।

अमेरिका र इरानबीच लामो समयदेखि कूटनीतिक तथा सैन्य तनाव रहँदै आएको छ। पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय घटनाक्रमपछि दुबै देशबीचको सम्बन्ध थप चिसिँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सरकारले अन्तर्राष्ट्रिय परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र आवश्यक परे थप निर्देशन जारी गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सिफारिस