काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी अमेरिकाको डाइभरसिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त कार्यमा संलग्न सातजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका-७ घर भएका १९ वर्षीय किरण सिंह ठकुरी रहेका छन् । प्रहरीका अनुसार ठकुरीले डिभी अन्तर्वार्ताका क्रममा नक्कली प्रमाणपत्र प्रयोग गरेका थिए । यसका अतिरिक्त पर्वत, नुवाकोट, गुल्मी र काठमाडौँका विभिन्न स्थानका अन्य छ जना पनि पक्राउ परेका छन् ।
गिरोहले लामो समयदेखि डिभी आवेदकहरूलाई लक्षित गरी पैसा असुली नक्कली कागजात तयार गर्ने संगठित अपराध गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।
प्रहरीका अनुसार गिरोहले डिभी विजेताहरूलाई शैक्षिक योग्यता नपुगे पनि कक्षा १२ उत्तीर्ण भएको नक्कली प्रमाणपत्र बनाइदिने र त्यसकै आधारमा अमेरिकी दूतावासमा अन्तर्वार्ता प्रक्रिया अघि बढाउने गरेको पाइएको छ ।
गिरोहको गतिविधि अमेरिकी दूतावासबाट राष्ट्रिय परीक्षा बोर्डमा शैक्षिक प्रमाणपत्र प्रमाणीकरणका लागि पठाइएपछि बाहिरिएको थियो । जाँचका क्रममा पेश गरिएको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि नेपाल प्रहरीलाई जानकारी गराइएको थियो ।
प्रहरीले गिरोहसँग जोडिएका अन्य व्यक्ति तथा सञ्जालको खोजी जारी रहेको जनाएको छ । साथै, डिभी प्रक्रिया वा अन्य वैदेशिक अवसरका नाममा नक्कली कागजात प्रयोग नगर्न र यस्ता प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।