काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टीले आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणलाई केन्द्रमा राखिएको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै विद्यमान राजनीतिक प्रणालीले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गरिएको छ। त्यसलाई सम्बोधन गर्न संविधानको पुनरावलोकन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्ने प्रस्ताव अघि सारिएको छ।
प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, स्थिर सरकार, रोजगारी सिर्जना, कृषि सुधार, शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउने विषयलाई प्राथमिकतामा राखिएको उल्लेख छ। साथै, गरिबी निवारण र सामाजिक न्याय स्थापना गर्ने कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ।
आर्थिक नीतितर्फ आत्मनिर्भर अर्थतन्त्र निर्माण, राष्ट्रिय उत्पादन वृद्धि र श्रमिक तथा किसानमुखी नीति अपनाउने उल्लेख गरिएको छ। पार्टीले विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको संरक्षण गर्ने प्रतिबद्धता पनि जनाएको छ।
पत्रकार सम्मेलनमा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले निर्वाचनमार्फत शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा सहभागी भएर जनताको विश्वास जित्ने लक्ष्य रहेको बताए। उनले जनताको पक्षमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न यो प्रतिबद्धता पत्र मार्गदर्शक दस्तावेज हुने दाबी गरे।
पार्टीका अनुसार प्रतिबद्धता पत्र आगामी निर्वाचनमा जनतासमक्ष प्रस्तुत गरिने मुख्य आधारपत्र हुनेछ। माओवादीले यसअघि निर्वाचन आयोगबाट दल दर्ता गराइसकेको छ र चुनावी प्रक्रियामा सक्रिय सहभागिता जनाउने तयारीमा रहेको जनाएको छ।