सुर्खेतमा प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी, १२ जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरी परीक्षा दिएको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भइरहेको लिखित परीक्षाका क्रममा अरूको नाममा परीक्षा दिइरहेको आशंकामा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

परीक्षामा सहभागी केही परीक्षार्थीको परिचयपत्र तथा विवरण शंकास्पद देखिएपछि निगरानी बढाइएको र सोही क्रममा नक्कली परीक्षार्थी प्रयोग भएको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक श्यामकुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले दिउँसो करिब २ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरू जाजरकोट, बाँके, दैलेख र सुर्खेत जिल्लाका विभिन्न स्थानीय तहका रहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको र घटनामा संलग्न अन्य व्यक्ति तथा नेटवर्कबारे पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ। नक्कली परीक्षार्थी व्यवस्थापन गर्ने गिरोह सक्रिय रहेको हुन सक्ने आशंकामा अनुसन्धानलाई विस्तार गरिएको प्रहरी स्रोतले बताएको छ।

लोकसेवा आयोगद्वारा सञ्चालन हुने परीक्षामा यस किसिमको अनियमितता गम्भीर अपराध भएकाले कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सिफारिस