८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। आयोगले उदयपुर सिमेन्ट कम्पनी लिमिटेडमा महाप्रबन्धकका रूपमा कार्यरत रहँदा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको हो।

आयोगले पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा बिगो कायम गर्दै सोही बराबरको जरिवाना, कैद तथा बिगो असुलीको माग गरेको छ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार यस मुद्दामा पौडेलसँगै नवलकिशोर साह (तत्कालीन निमित्त महाप्रबन्धक), महेशप्रसाद काफ्ले (तत्कालीन नायब महाप्रबन्धक), सञ्जयकुमार लाल (उत्पादन महाशाखा प्रमुख), महेशप्रसाद साह (भण्डार महाशाखा प्रमुख), रविचन्द्र पौडेल (क्लिङ्कर उत्पादन विभाग), हरिप्रसाद अधिकारी (सिमेन्ट उत्पादन विभाग) र रामबहादुर जीसी (बिक्री विभाग प्रमुख) लाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार उजुरीका आधारमा गरिएको अनुसन्धानमा उत्पादन विवरण र भौतिक मौज्दातबीच क्लिङ्करको असामान्य कमी देखिनुका साथै अभिलेख र भौतिक तथ्यांकमा गम्भीर अन्तर भेटिएकोले मुद्दा दायर गरिएको हो।

पौडेललाई केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले गत भदौ २० गते नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा चार वर्षका लागि नियुक्त गरेका थिए।

मुद्दा दायर भएसँगै अख्तियारले पौडेललाई नेपाल पुनर्बिमा कम्पनीको अध्यक्ष पदबाट निलम्बनमा राखिएको जानकारी पनि दिएको छ।