काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच पार्टी एकता गर्ने विषयमा औपचारिक सहमति जुटेको छ। दुई पक्षबीच सम्पन्न सहमतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र समाजवाद उन्मुख यात्रालाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ।
सहमति पत्रमा नेपाल बहुजातीय, बहुसांस्कृतिक तथा बहुधार्मिक समाज भएको यथार्थलाई आत्मसात गर्दै समावेशी, समानुपातिक र सामाजिक न्यायसहितको समाज निर्माणका लागि संयुक्त संघर्ष गर्ने उल्लेख गरिएको छ। संघीय शासन प्रणालीलाई थप सुदृढ बनाउँदै सडक, सदन र सरकार तीनै मोर्चाबाट समाजवादी लक्ष्य हासिल गर्न क्रियाशील रहने सहमति भएको बताइएको छ।
यसैगरी वर्गीय, जातीय, क्षेत्रीय तथा लैंगिक विभेद अन्त्य गर्दै महिला, दलित, उत्पीडित समुदाय र श्रमिक वर्गको नेतृत्वदायी भूमिकालाई प्राथमिकतामा राख्ने सहमति गरिएको छ। पार्टी सञ्चालनमा सामूहिक नेतृत्व, समावेशी प्रतिनिधित्व र जनवादी केन्द्रीयताको सिद्धान्त अवलम्बन गरिने सहमतिमा गरिएको छ।
सहमति अनुसार आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई समाजवादको आधारका रूपमा लिँदै संघ, प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म न्यायपूर्ण विकासका योजनाहरू कार्यान्वयन गरिने उल्लेख छ। साथै पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादनमूलक कार्यमा अनिवार्य रूपमा सहभागी गराउने व्यवस्था गरिने समेत उल्लेख छ।
उक्त सहमति बमोजिम वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एकता पक्षधर समूहका केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताहरू आपसी समझदारीका आधारमा नेकपामा समायोजन हुनेछन्।
सहमति पत्रमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एकता पक्षधर समूहकी संयोजक धनकुमारी सुनार, नेकपाका सहसंयोजक माधव कुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्। सहमति २०८२ माघ १७ गते सम्पन्न भएको हो।
