काठमाडौं, २१ माघ । निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सरकारले आजदेखि देशभर नेपाली सेना परिचालन गरेको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले सेना परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।
एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत सेनालाई विमानस्थल, कारागार, सरकारी तथा अन्य संवेदनशील स्थानको सुरक्षा जिम्मा दिइएको छ। यसका साथै सेनाले आवश्यक स्थानमा सडक गस्ती तथा संयुक्त सुरक्षा गस्ती समेत सञ्चालन गर्नेछ।
सरकारले निर्वाचन सुरक्षाका लागि करिब ७९ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ। सुरक्षा व्यवस्थामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सहभागी हुनेछन्।
सुरक्षा संयन्त्रलाई तीन तहमा विभाजन गरिएको बताइएको छ । जसअनुसार मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र बाहिरी घेरामा नेपाली सेना रहने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगका अनुसार देशभरका मतदान स्थलहरूलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ। अति संवेदनशील र संवेदनशील मतदान स्थलहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
सरकारले निर्वाचन अवधिभर सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्दै कुनै पनि अप्रिय घटना हुन नदिने तयारी गरेको जनाएको छ। सेना परिचालनसँगै निर्वाचन सुरक्षालाई थप मजबुत बनाइएको बताइएको छ।