कोशी, बागमती र गण्डकीका उच्च भूभागमा हिमपातको सम्भावना

दियोपोस्ट संवाददाता  

काठमाडौँ । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ । बागमती र गण्डकी प्रदेशसहितका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा हुन सक्नेछ ।

त्यस्तै, आज राति पनि तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम प्रायः सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च भूभागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहेको छ ।

महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ ।

सिफारिस