नेपाल लाइफ र इसेवाको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपालको अग्रणी ‘जीवन बीमा कम्पनी’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ नामक म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ।

अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ल्याइएको यस योजनाले बीमित व्यक्तिको अनुपस्थितिमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ। न्यून प्रिमियम दरमै उच्च बीमा सुरक्षा उपलब्ध गराउने यो योजना विशेषगरी सीमित आम्दानी भएका तथा पहिलो पटक जीवन बीमा गर्न चाहने व्यक्तिहरूका लागि लक्षित गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजनाले संकटको समयमा परिवारलाई पर्याप्त आर्थिक सहारा प्रदान गर्ने बताए। सहज, सुलभ तथा किफायती प्रिमियममा उपलब्ध यस योजनामार्फत सबै वर्गका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने लक्ष्य रहेको उनको भनाइ छ।

नेपाल लाइफले बीमा साक्षरता अभिवृद्धि गर्दै आम नागरिकलाई वित्तीय सुरक्षाको दायरामा ल्याउने उद्देश्यका साथ नवीन तथा ग्राहक–मैत्री बीमा योजनाहरू निरन्तर रूपमा प्रस्तुत गर्दै आएको र ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सोही प्रतिबद्धताको एक महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ।

१ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजनाको वार्षिक प्रिमियम ७२५ रुपैयाँबाट सुरु हुने बताइएको छ। यसअन्तर्गत बीमितले ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सक्ने र १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकहरूले यो योजना लिन सक्ने बताइएको छ ।

योजनाअन्तर्गत बीमितको आकस्मिक मृत्यु तथा दुर्घटनाबाट मृत्यु भएको अवस्थामा बीमा सुरक्षा प्रदान गरिनेछ। यसले अकस्मात् हुने जोखिमका समयमा परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋण दायित्व तथा भविष्यका आवश्यकताहरू पूरा गर्न सहयोग पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

ग्राहकहरूले ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्नेछन् भने बीमा पोलिसी तुरुन्तै इमेलमार्फत प्राप्त हुने व्यवस्था गरिएको छ।

सिफारिस