काठमाडौँ । भिडिओ मार्केटिङ र क्रिएटर कोल्याबरेसनका लागि विश्वकै अग्रणी प्लेटफर्म भिलले नेपालमा आफ्नो पाइलट प्रोजेक्ट सुरु गर्ने भएको छ । काठमाडौँमा आयोजित क्रिएटर मेलाको एक प्यानल छलफलका क्रममा भिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीलिप ढकालले उक्त घोषणा गरेका हुन् ।
भिलको नेपाल प्रवेशले नेपाली डिजिटल क्रिएटरहरूलाई विश्वव्यापी मापदण्डसँग जोड्ने र नेपालको डिजिटल अर्थतन्त्रमा नयाँ कोसेढुङ्गो थप्ने अपेक्षा गरिएको छ । अमेरिकी बजारमा सफलतापूर्वक स्थापित भइसकेको यो प्लेटफर्मले अब नेपाली व्यवसायीहरूलाई पनि ‘अथेन्टिक’ भिडिओ सामग्रीमार्फत आफ्नो बजार विस्तार गर्न सहयोग पुर्याउने जनाइएको छ ।
प्यानल छलफलमा बोल्दै सीईओ ढकालले आधुनिक क्रिएटर इकोनोमी केवल कन्टेन्ट निर्माणमा मात्र सीमित नभएर जीविकोपार्जन, विश्वास र मापनयोग्य प्रणालीसँग जोडिएको विषय भएको बताए । उनले नेपालमा अथाह सिर्जनशील प्रतिभा रहेको उल्लेख गर्दै भने, “हाम्रो पाइलट प्रोजेक्टले क्रिएटरहरूलाई उनीहरूको सीपबाट अर्थोपार्जन गर्न र ब्रान्डहरूलाई प्रमाणित क्रिएटरहरूसँग काम गर्न मद्दत गर्नेछ ।”
अमेरिकी दूतावासको पहलमा आयोजित उक्त क्रिएटर मेलाले नेपाली क्रिएटरहरूलाई नयाँ विचार अन्वेषण गर्न र सीप विकास गर्न साझा मञ्च प्रदान गरेको आयोजकहरूले बताएका छन् । यस परियोजनाको मुख्य उद्देश्य नेपालको बढ्दो क्रिएटर इकोनोमीलाई सहयोग पुर्याउनु र ब्रान्ड तथा क्रिएटरहरूबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनु रहेको छ ।
कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार हाल विश्वभर क्रिएटर इकोनोमीको मूल्य २५० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ । नेपालमा यो क्षेत्रको मूल्य करिब ३ देखि ४ करोड अमेरिकी डलर बराबर रहेको अनुमान गरिएको छ । साथै नेपाली क्रिएटरहरूले वार्षिक रूपमा २ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी आम्दानी गरिरहेको तथ्याङ्कले यस क्षेत्रको उच्च सम्भावनालाई उजागर गरेको छ ।
प्यानल छलफलमा सहभागी सान फ्रान्सिस्कोकी यूजीसी क्रिएटर भ्यारोनिका कामाचोले क्रिएटरहरूले भोगिरहेका चुनौतीहरूबारे प्रकाश पारिन् । उनका अनुसार स्पष्ट कार्यक्षेत्रको अभाव, भुक्तानीमा ढिलाइ तथा मानक प्रक्रियाको कमी क्रिएटरहरूको प्रमुख समस्या रहेका छन् ।
कार्यक्रममा क्रिएटरहरूलाई दिगो आम्दानीका स्रोत निर्माण गर्न आवश्यक सीपहरू विकास गर्न सुझाव दिइएको थियो । जसमा प्रभावकारी स्टोरी टेलिङ, व्यावसायिक सहकार्यका लागि सञ्चार कौशल तथा ब्रान्डहरूसँग काम गर्दा अपनाउनुपर्ने व्यावसायिक मापदण्डहरू समावेश रहेका छन् ।