सप्तरी, २१ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र विकासीय बजेटको विनियोजन नहुनु मधेशी जनताप्रतिको गम्भीर बेइमानी भएको बताएका छन्।
सप्तरीको रुपनी गाउँपालिका-२, पिपराहीमा बुधबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रममा बोल्दै उनले बाँकी अधिकार प्राप्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताए।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले पहाडी जिल्लामा आठ-दश हजार जनसङ्ख्यामा एक जना प्रतिनिधिसभा सदस्य हुने तर मधेशमा डेढ लाख जनसङ्ख्यामा पनि एक जना मात्र प्रतिनिधि हुने अवस्था कायम रहेको उल्लेख गरे।
उनले मधेशको जनसङ्ख्या करिब ६० प्रतिशत भए पनि विकासीय बजेट केवल ११ प्रतिशत मात्र विनियोजन हुने र देशको कुल राजश्वमध्ये ७० प्रतिशत मधेशबाट संकलन हुने तथ्य प्रस्तुत गर्दै यसलाई मधेशी जनतामाथिको अन्याय र बेइमानीको संज्ञा दिए।
अध्यक्ष यादवले मधेश जनविद्रोह नभएको भए मधेशीसहित महिला, दलित, थारु, आदिवासी जनजाति, मुस्लिम, अल्पसङ्ख्यक तथा पछाडि पारिएका समुदायको सरकारी सेवा र राजनीतिक क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित नहुने स्मरण गराए।
तत्कालीन मधेशी जनअधिकार फोरमसँग भएको सम्झौतापछि पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख गरी ३१ लाख नागरिकताविहीनले टोलीमार्फत गाउँगाउँमै नागरिकता पाएको उल्लेख गर्दै उनले सङ्घीयता उत्कृष्ट शासन प्रणाली भए पनि अधिकार नदिइ कमजोर बनाउने प्रयास भइरहेको बताए।
२००७, २०१७ र २०४६ सालका राजनीतिक परिवर्तनमा मधेशी जनताले ठूलो बलिदान दिएको तर त्यसपछि बनेका कांग्रेस र एमाले नेतृत्वका सरकारले मधेशीलाई शासित र शोषित बनाएको आरोप लगाउँदै उनले विभेद अझै समाप्त नभएको बताए। सङ्घीय संरचनामा आफ्नै प्रहरी, कर्मचारी, न्यायालय र प्रशासन हुनुपर्नेमा अधिकार नदिई सङ्घीयताविरोधीहरूले गलत भाष्य निर्माण गरेको उनको भनाइ थियो।
संविधान संशोधन तथा पुनर्लेखनमार्फत हक-अधिकार सुनिश्चित गर्न जनता समाजवादी पार्टी नेपाल थप मजबुत भएर प्रतिनिधिसभामा जानुपर्ने आवश्यकता औंल्याउँदै उनले शोषित उत्पीडित समुदायका अधिकारका लागि आफैं संघर्ष गर्नुपर्नेमा जोड दिए।
बुधबारै रुपनी गाउँपालिका-४ अन्तर्गत छपकी, भथौल र लक्ष्मीपुरमा पनि भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, जसपा नेता मुनीलाल खंग, दिलकुमारी चौधरी, जिल्ला अध्यक्ष सुनिल कुमार झा, उपाध्यक्ष हरेराम यादव, सचिव जयनारायण यादव, चुल्हाइ मण्डल, निर्मला मण्डल, पूर्व उपमेयर बेचनी सरदार, निर्वाचन परिचालन समिति संयोजक रामानन्द ठाकुर, ओमप्रकाश महतो लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

