जल तथा जलवायु परिवर्तनका असर महिला र सीमान्तकृत समुदायमा बढी, सरोकारवालाद्वारा चिन्ता ब्यक्त

दियोपोस्ट संवाददाता  

काठमाडौं । दक्षिण एसियामा जल तथा जलवायु विज्ञान अनुसन्धानमा लैङ्गिक समावेशीकरण र सिकाइसम्बन्धी क्षेत्रीय कार्यशाला आजदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा आयोजना गरिएको कार्यशालामा जल तथा जलवायु परिवर्तनका चुनौतीहरू महिला तथा सीमान्तकृत समुदायका लागि अझ गम्भीर बन्दै गएको भन्दै चिन्ता ब्यक्त गरिएको छ ।

तीन दिनसम्म चल्ने उक्त कार्यशालामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका विश्वविद्यालयहरू परियोजना साझेदारका रूपमा सहभागी छन् । क्यानडाको अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र (IDRC) को सहयोगमा आयोजित कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेज, बंगलादेश इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालय अन्तर्गतको जल तथा बाढी व्यवस्थापन संस्थान तथा श्रीलंकाको पेराडेनिया विश्वविद्यालय साझेदार संस्थाका रूपमा रहेका छन् ।

कार्यशालाको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा। डा. बेदराज केसीले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले कार्यशालाले नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा जल तथा जलवायु विज्ञान अनुसन्धानका समस्या, चुनौती र सम्भावनाबारे साझा दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उपकुलपति डा. केसीले जल तथा जलवायु परिवर्तनले कृषि, स्वास्थ्य, जीविकोपार्जन र खाद्य सुरक्षालगायतका क्षेत्रमा प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै ती प्रभाव सबै समुदायमा समान नहुने स्पष्ट पार्नुभयो । “महिला तथा सीमान्तकृत समुदायहरू प्रायः बढी जोखिममा पर्छन्, तर निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सीमित हुने गरेको छ,” उनले भने ।

जल तथा जलवायु विज्ञान समावेशी हुनुपर्नेमा जोड दिँदै उनले लैङ्गिक दृष्टिकोण समेटिएको अनुसन्धानले जोखिम न्यूनीकरण, न्यायोचित नीति निर्माण र प्रभावकारी समाधान विकासमा सहयोग पुर्‍याउने बताए । महिला र पुरुष दुवै स्रोत योजना र नेतृत्वमा समान रूपमा संलग्न भए परिणाम अझ दिगो र प्रभावकारी हुने उनको धारणा थियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. अजय थापाले लैङ्गिकता, वातावरणीय समस्या र जलवायु परिवर्तनबीच गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गरे । इको-फेमिनिस्ट सिद्धान्तको सन्दर्भ प्रस्तुत गर्दै उनले महिलामाथिको दमन र वातावरणीय क्षयबीच प्रत्यक्ष सम्बन्ध रहेको बताए ।

“पानी स्रोतसम्बन्धी निर्णय प्रक्रियाबाट महिलालाई बाहिर राख्ने पितृसत्तात्मक संरचनामा परिवर्तन आवश्यक छ,” उनले भने । दिगो र न्यायोचित जल व्यवस्थापनका लागि महिलाको स्थानीय ज्ञान र प्रमुख जल व्यवस्थापकको भूमिकालाई मान्यता दिनु अपरिहार्य रहेको उनको भनाइ थियो ।

रजिष्ट्रार थापाले जलवायु परिवर्तनका असर महिलामाथि असमानुपातिक रूपमा पर्ने उल्लेख गर्दै पानीको अभाव, खडेरी र बाढीजस्ता चरम मौसमी घटनाले ग्रामीण महिलालाई सबैभन्दा बढी प्रभावित बनाउने बताए ।

महिलालाई परिवर्तनका संवाहक र अगुवाका रूपमा स्थापित गर्न सके प्रभावकारी जलवायु अनुकूलन र जोखिम न्यूनीकरण सम्भव हुने उनको धारणा थियो ।

कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले सहभागीलाई स्वागत गर्दै कार्यशालाले नेपालसहित सम्पूर्ण दक्षिण एसियामा जल तथा जलवायु विज्ञान अनुसन्धानका महत्वपूर्ण विषयहरू उठान गर्ने विश्वास व्यक्त गरे ।

कार्यशालाको पहिलो दिन अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्रका इयान थोम्पसन तथा परियोजना प्रमुख एवं पेराडेनिया विश्वविद्यालयका प्राध्यापक धम्मिका दयावन्साबाट मुख्य तथा विशेष मन्तव्य प्रस्तुत गरिएको छ । साथै जल क्षेत्रमा लैङ्गिक विषय तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित सम्बन्धी प्राविधिक सत्रहरू सञ्चालन गरिएका छन् ।

देशगत प्रस्तुति अन्तर्गत नेपालबाट डा। लिना गुरुङ, बंगलादेशबाट (अनलाइन) डा.रोकेया खातुन र श्रीलंकाबाट डा। स्रिनिता मण्डलले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा एकीकृत जलस्रोत व्यवस्थापनसम्बन्धी अनुसन्धान तथा शिक्षामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका संस्थागत अनुभवहरूबारे छलफल गरिएको थियो । उक्त सत्रमा श्रीलंकाबाट प्रा। धम्मिका दयावन्सा, नेपालबाट सह–प्राध्यापक रोबर्ट डोङ्गोल र बंगलादेशबाट प्रा. शाहजहाँ मण्डलले प्रस्तुति दिएका थिए ।

सरकारी तथा गैरसरकारी निकाय, उद्योग क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार, शैक्षिक संस्था र विद्यार्थीहरूको सहभागिता रहेको यो कार्यशालाले दक्षिण एसियामा लैङ्गिक उत्तरदायी जल तथा जलवायु विज्ञान अनुसन्धानका लागि ज्ञान आदान–प्रदान, सिकाइ र सहकार्यको प्रभावकारी क्षेत्रीय मञ्च बन्ने अपेक्षा गरिएको छ ।

सिफारिस