रुपन्देहीका सुकुम्बासीको गुनासोः चुनाव आयो, तर लालपुर्जा अझै आएन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बुटबल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पार्वती थारु २० वर्षयता हरेक चुनावमा भोट हाल्दै आएकी छन् । यस अघिका हरेक चुनावमा सुकुम्बासीलाई लालपुर्जा दिने भन्दै नेताहरु भोट माग्न आएको उनले बिर्सेकी छैनन् ।

चुनाबमा लालपुर्जा दिलाउने भन्दै भोट माग्न आउने नेताहरु चुनाब जिते पछि ५ वर्षसम्म हराउने गरेको उनले गुनासो गरिन् । उनी भन्छिन्, ‘हामीलाई सधै लालपुर्जाको आश देखाउँछन् । नमस्कार गर्दै भोट माग्न आउँछन् । तर, चुनाब जितेर गएपछि फर्केर आउँदैनन् ।’

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिदैँ छ । रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट बिष्णु पौडोल पूनः रुपन्देही क्षेत्र नं. २ का उम्मेद्वार बनेका छन् । पौडेलले अघिल्लो चुनावमा एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताउँदै आएका थिए ।
तर, उनले चुनावमा जीत हासिल पनि गरेपछि सुकुम्वासीका समस्या हल गर्न पहल नगरेको भुमिहिन तथा सुकुम्बासीहरुले बताउँदै आएका छन् ।

फागुन २१ को आसन्न निर्वाचनमा बिभिन्न पार्टीका नेताहरु पुरानै मुद्धा बोकेर भोट माग्न आउने गरेको प्रगतिनगरकै राम बहादुर खड्गीले बताए । आफुहरुले पटक पटक पौडेललाई भोट हालेर जिताए पनि अहिलेसम्म सुकुम्बासीका पक्षमा काम नगरेको उनको भनाई छ ।

‘पटक-पटक सरकार फेरिए, आयोग बने, जग्गा नाप जाँच पनि भयो । तर  हाम्रो  कम भएन । अर्को चुनाव पनि आइसक्यो । तर हाम्रो हातमा लालपुर्जा पुगेको छैन,’ उनले भने, ‘हामीलाई नेताहरुले भोटका लागि मात्रै प्रयोग गरे । तर हाम्रो समस्या बुझिदिएनन् ।’

यसपालीको चुनावमा पनि पुरानै एजेण्डा बोकेर पौडेल भोट माग्न आएको उनले बताए । त्यसो त, रुपन्देही जिल्लामा ७० हजार भन्दाबढी सुकुम्बासीहरु छन् । सुकुम्बासी र भुमिहिनको समस्या पौडेलको चुनाव जित्ने हतियार बनेको छ । उनले पाँचौ पटक मतदातासंग भोटको अपिल गरिरहेका छन् ।

२०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका उम्मेद्वारसंग १ हजार ३६६ मतले जीत हासिल गरेका थिए । यसपाली भने पुराना मतदाताले समेत नेता र मत बदल्न सक्ने बताइएको छ ।