६० निर्वाचन क्षेत्रका लागि ७२ लाख ६० हजार मतपत्र छापाइ सम्पन्न

दियोपोस्ट संवाददाता  

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका मतपत्र छपाइ प्रक्रिया पूरा भएको जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार अहिलेसम्म ७२ लाख ६० हजार मतपत्र छापिएको हो ।

आयोगका अनुसार छापिएका मतपत्रमध्ये २५ जिल्लाको ‘प्याकिङ’ सम्पन्न भइसकेको छ। छपाइ कार्य कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई भेग बाहेक देशका अधिकांश भागमा सकिएको छ।

निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य सामग्री माघ २५ गतेदेखि फागुन ३ गतेसम्म सम्बन्धित जिल्लामा वितरणका लागि पठाइने तयारी भइरहेको आयोगले जनाएको छ। सडकको पहुँच पुग्ने स्थानमा ट्रकमार्फत र उच्च हिमाली जिल्लामा नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिने योजना रहेको बताइएको छ ।

प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य तय गरिएको छ भने समानुपातिकतर्फको मतपत्र छपाइ कार्य पहिले नै सम्पन्न भइसकेको छ।

निर्वाचन आयोगका अनुसार सबै मतपत्र तथा निर्वाचन सामग्रीको वितरण, सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राख्दै निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ।