काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेको कोइला खानी विस्फोट हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ । बिहिबार बिहान भएको घटनामा दर्जनौँ घाइते वा फँसेका हुन सक्ने प्रहरीले आशंका गरेको छ।
घटनामा स्थानीय प्रहरी तथा उद्धार टोलीले बिहानै सूचना पाएपछि घटनास्थलमा पुगेर उद्धार एवं खोजी कार्य सुरु गरेका थिए । विस्फोटबाट खानीका सुरुङ् भत्किएका र मजदूरहरू भित्रै फसेको बताइएको छ।
प्रहरीका अनुसार उद्धार र खोजी क्रममा १८ जनाका शवहरू पहिलै नै निकालिएको र एक जना घाइतेलाई झारखण्डको अस्पतालमा उपचारका लागि पठाइएको जानकारी दिइएको छ।
यस अवैध खानीलाई खतरनाक र साँघुरो सुरुङ्गमा कोइला उत्खनन गर्ने गरिएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रति ब्यक्ति २ लाख र घाइतेलाई ५० हजार रुपैया राहत उपलब्ध गराइने घोषणा गरेका छन्।
मेघालयका मुख्यमन्त्री कनराड संग्माले पनि घटनामा गहिरो शोक व्यक्त गर्दै एक पूर्ण छानबिन र कानुनी कारवाही गर्ने संकेत दिएका छन् । उनले अवैध खानी सञ्चालन गर्नेहरूलाई कडाभन्दा कडा कानुनी कदम चालिने समेत बताएका छन् ।
केन्द्रीय गृह मन्त्री अमित शाहले मुख्यमन्त्रीसँग फोन मार्फत सम्पर्क गरी उद्धार तथा राहत कार्यमा केंद्र सरकारको पूर्ण समर्थन र आवश्यक सहायता उपलब्ध गराइने आश्वासन व्यक्त गरेका छन्।