मेघालयको कोइलाखानी विस्फोटमा परि खोटाङका दुई दाजुभाइको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमडौँ । भारतको मेघालय राज्यको पूर्वी जयन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेको कोइलाखानीमा भएको विस्फोटमा खोटाङका दुई दाजुभाइको समेत मृत्यु भएको छ।

दुर्घटनामा खोटाङको बराहपोखरी गाउँपालिका-१ का पूर्णबहादुर खपाङ्गी मगर (२७) र सुरेन्द्र खपाङ्गी मगर (२४) को मृत्यु भएको हो । उनीहरू रोजगारीका लागि केही समयदेखि मेघालयमा कोइलाखानीमा काम गर्दै आएका थिए।

स्थानीय प्रशासनका अनुसार बिहीबार बिहान उम्साङघाट (थांगस्को) क्षेत्रमा रहेको कोइलाखानीभित्र अचानक विस्फोट हुँदा खानीभित्र काम गरिरहेका मजदूरहरू चपेटामा परेका थिए। विस्फोटपछि खानी भत्किँदा धेरै मजदूर घटनास्थलमै पुरिएका थिए।

घटनापछि उद्धारका लागि भारतीय सुरक्षा बल, एनडीआरएफ र एसडीआरएफ परिचालन गरिएको थियो। उद्धार टोलीले खानीभित्रबाट शवहरू निकाल्ने काम पूरा गरेको जनाइएको छ। दुर्घटनामा परेका केही मजदूर घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।

मेघालय सरकारले घटनाको छानबिन सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार खानी अवैध रूपमा सञ्चालन भइरहेको र आवश्यक सुरक्षा मापदण्ड पालना नगरिएको बताएको छ।

भारतीय प्रधानमन्त्रीले मृतकका परिवारलाई राहतस्वरूप आर्थिक सहयोगको घोषणा गरेका छन्। नेपाल सरकार तथा भारतीय निकायबीच मृतक नेपाली नागरिकको शव व्यवस्थापन र आवश्यक सहजीकरणका लागि समन्वय भइरहेको बताइएको छ।

उक्त घटनापछि खोटाङस्थित मृतकका परिवार शोकमा डुबेका छन् भने स्थानीय तहले परिवारलाई आवश्यक सहयोगका पहल सुरु गरेको जनाएको छ।

सिफारिस