झापा-५ : ‘हेभीवेट’ भिडन्तको छायाँमा रञ्जित तामाङ, यस्तो छ चुनाबी आंकलन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापा-५ को चुनाबी माहोल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका पूर्व मेयर बालेन्द्र (बालेन) साह बीचको प्रतिस्पर्धाका रूपमा मात्रै चित्रित हुँदै आएको छ। सञ्चार माध्यम, सामाजिक सञ्जाल र राजनीतिक बहसमा मुख्यतया यिनै दुई पात्रको नाम चर्चामा रहँदा सोही क्षेत्रबाट उम्मेदवार बनेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रञ्जित तामाङ भने ओझेलमा परे जस्तो देखिएको छ ।

तर, रञ्जित तामाङ सो क्षेत्रका बलिया उम्मेद्वार हुन् । झापा-५ वर्षौदेखि कम्युनिष्टको गढ मानिदै आएको छ । एमालेको संगठनात्मक पकड बलियो छ । तर, जेनजी आन्दोलन यता एमालेबाटै ओलीको बिरोध भइरहेको छ । यस्तो अवस्थामा एमालेका असन्तुष्ट पक्षले रञ्जितलाई समर्थन गर्न सक्ने संभावना पनि उत्तिकै छ ।

यता, बालेन साहले युवा र असन्तुष्ट मतदातालाई आकर्षित गरिरहेका छन्। यस्तो अवस्थामा रञ्जित तामाङको जीतलाई कठिन तर पूर्ण रूपमा असम्भव भने नभएको विश्लेषकहरू बताउँछन्।

झापा-५ को चुनावी माहोल दुई चर्चित अनुहारबीचमा मात्रै सीमितजस्तो देखिए पनि रञ्जित तामाङ सर्वहरा वर्गीय बिचार र कम्युनिष्ट आन्दोलनको पृष्ठभूमीबाट उम्मेदवार बन्नुले उनको उपस्थिति बलियो देखिन्छ ।

यदि प्रमुख दुई उम्मेदवारबीच मत अत्यधिक विभाजित भयो भने तेस्रो धारका उम्मेदवारले अपेक्षाभन्दा राम्रो मत ल्याउन सक्ने सम्भावना रहेको बिश्लेषहरु बताउँछन् । हालसम्मको प्रचार, संगठन र सार्वजनिक धारणा हेर्दा तामाङ मुख्य प्रतिस्पर्धीको सूचीमा अग्रपंक्तिमा नदेखिए पनि उनको राजनीतिक छवि र प्रष्ट बिचारका कारण उनी त्यस क्षेत्रका बलिया उम्मेद्वार हुन् ।

यद्यपि, राजनीतिमा लामो समयदेखि देखिँदै आएको प्रवृत्ति अनुसार, चुनाव परिणामले कहिलेकाहीँ स्थापित अनुमानलाई चुनौती पनि दिने गरेको देखिन्छ । त्यसकारण पनि तामाङ प्रमुख प्रतिस्पर्धी हुन् ।

रञ्जित तामाङ विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत रहेका उनी लामो समयदेखि संगठन निर्माण, वैचारिक राजनीति र आन्दोलनसँग जोडिएका ब्यक्ति हुन् ।

सानैदेखि कम्युनिष्ट बिचारधारामा आस्था राख्दै आएका तामाङले अहिलेसम्म कुनै लाभको पदमा रहेका छैनन् । यतिबेला तामाङ शिक्षा, रोजगारी, सार्वजनिक सेवाको सुधार र वैकल्पिक वाम राजनीतिका मुद्दा लिएर चुनावी मैदानमा उत्रिएका छन्। स्थानीय स्तरमा उनी “सैद्धान्तिक रूपमा प्रष्ट र सम्भावना बोकेको नेता” का रूपमा चिनिदैँ आएका छन्।

राजनीतिक परिपक्वता हासिल गरिसकेका तामाङको चर्चा कम भएता पनि उनले जित हासिल गर्न संभावना पनि उत्तिकै भएको बिश्लेषकहरु बताउँछन् ।

जानकारहरू यस अवस्थालाई मिडिया प्राथमिकता र एल्गोरिदमिक प्रभावसँग पनि जोडेर हेर्छन्। सामाजिक सञ्जालमा धेरै खोजिने, धेरै क्लिक हुने र विवादास्पद पात्रहरूलाई प्राथमिकता दिँदा अन्य उम्मेदवारहरू कम देखिनु स्वाभाविक भएको उनीहरूको भनाइ छ।

यद्यपी, निर्वाचन नतिजाले झापा-५ मा मतदाताले चर्चित अनुहार रोज्छन् कि वैकल्पिक विचार भन्ने प्रश्नको उत्तर दिनेछ। अन्तिम निर्णय भने मतदाताको हातमै रहनेछ।

सिफारिस