अष्ट्रेलिया र स्लोभाकिया पठाइदिने बहानामा ठगी गर्ने दुई जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया र स्लोभाकिया पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रे पाँचखल नगरपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्दै आएका ३५ वर्षीय रूपेश लामिछाने र धादिङ खनियाबास गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्दै आएका ३५ वर्षीय हिरा तामाङ रहेका छन्।

प्रहरीका अनुसार रूपेश लामिछानेले अष्ट्रेलिया पठाइदिने आश्वासन दिँदै एक जना पीडितबाट ९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। त्यस्तै, हिरा तामाङले स्लोभाकिया पठाइदिने भन्दै एक जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले रूपेशलाई काठमाडौं महानगरपालिका-३२ बाट र हिरालाई ललितपुर महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।