काठमाडौँ । पश्चिम नवलपरासी ९वसुप० क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार तथा केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन्। २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएपछि उनले सार्वजनिक गरेको ३१ बुँदे घोषणापत्रको कार्यान्वयन अवस्था, प्रगति र उपलब्धिहरू समेटिएको विवरण सार्वजनिक गरेका हुन्।
जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा उनले तीन वर्षअघि गरेका प्रतिबद्धताहरूको मूल्यांकन जनतामाझ प्रस्तुत गरेका छन्।
रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले मतदाताको प्रश्न गर्ने अधिकार नै लोकतन्त्रको आधार भएको उल्लेख गरे। आफू जनताको अदालतमा पूर्ण रूपमा जवाफदेही भएर उभिन तयार रहेको उनको भनाइ छ।
‘प्रश्न सोध्नु मतदाताको अधिकार हो। अघिल्लो निर्वाचनमा मैले सार्वजनिक गरेको प्रतिबद्धतापत्र अनुसार काम भए–नभएकोबारे प्रत्येक मतदाताले मलाई सोधून् भन्ने चाहना छ,’ उनले भने, ‘जनताको अदालतमा उभिएर आफ्ना प्रतिबद्धताहरूको एक–एक हिसाब दिनु मेरो कर्तव्य हो। प्रश्न गर्ने जनताको अधिकार स्थापित गर्न हामीले कांग्रेस रूपान्तरण गरेका हौं।’
उनले परिवर्तनको प्रतिबद्धता व्यक्त गर्दै जनताका प्रश्नको जवाफ दिन सक्ने गरी काम गर्ने बताए । त्यसैले ३१ बुँदे घोषणापत्रका प्रत्येक बुँदाको जवाफसहित आफु जनतामाझ आएको उनले बताए ।
उनका अनुसार रिपोर्ट कार्डको डिजिटल संस्करण सार्वजनिक भइसकेको छ। साथै यसको मुद्रित प्रति उनको सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुने जानकारी सचिवालयले दिएको छ। चौधरीले मतदातालाई प्रतिवेदन अध्ययन गरी कुनै जिज्ञासा भए टोल–टोलमै पुगेर प्रश्न गर्न आग्रह गरेका छन्।