काठमाडौँ । रामेछापको मन्थली नगरपालिका-स्थित सेलेघाटमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका मृतकका आन्दोलनरत परिवार र सम्बन्धित पक्षबीच बुधबार राति ८ बुँदे सहमति भएको छ। सहमतिपछि मृतकका आफन्तहरू पोस्टमार्टम गरी शव बुझ्न तयार भएका छन्।
पीडित परिवारले छानबिन र उचित क्षतिपूर्तिको माग गर्दै बुधबार दिनभर जिल्ला सदरमुकाम मन्थलीमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले मन्थली-खुर्कोट सडकखण्ड बिहानदेखि अवरुद्ध गरेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि भीड नियन्त्रणका लागि प्रहरीले हवाई फायर तथा अश्रुग्यास प्रहार गरेको थियो।
सहमती पछि हालसम्म १० परिवारले शव बुझ्न जाहेरी दिएका छन्। रामेछापका डीएसपी भोला भट्टका अनुसार शवको पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाउने प्रक्रिया सुरु गरिएको छ।
जिल्ला सुरक्षा समिति, पीडित परिवार र अरनिको यातायात सेवा प्रालिबीच घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने सहमति भएको छ। साथै, मृतकका परिवारलाई कानुनअनुसार प्राप्त हुने क्षतिपूर्ति तत्काल उपलब्ध गराउने र थप क्षतिपूर्तिका विषयमा यातायात सेवा कम्पनीसँग वार्ता गर्ने निर्णय भएको छ।
दुर्घटनामा तीन जना अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी राख्ने र बेपत्ता व्यक्तिका परिवारलाई पनि मृतकका परिवारसरह क्षतिपूर्ति दिने सहमति भएको छ। खोजी कार्यका लागि नेपाली सेना र सशस्त्र प्रहरी बलका गोताखोर परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सिन्धुलीको खुर्कोटस्थित विपद् व्यवस्थापन बेसबाट १० जना गोताखोर टोली दुर्घटनास्थलमा खटाइएको छ।
यसैबीच, सवारी चालकलाई कडा कारबाही गर्ने सहमति पनि भएको छ। क्षतिपूर्ति उपलब्ध गराउने र सार्वजनिक यातायातमा प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धतापछि यातायात सेवा पुनः सञ्चालनमा आएको छ।