रौतहट । जिल्लाको गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा भइरहेको स्तरोन्नति र साइफन बन्द गर्ने कार्यप्रति स्थानीय बासिन्दाले गम्भीर आपत्ति जनाएका छन्। हरेक वर्ष वर्षायाममा गौर डुबानमा पर्नुको मुख्य कारण सोही बाँध रहेको र अहिलेको निर्माण कार्यले समस्या झन् चर्किने खतरा बढाएको भन्दै स्थानीयले बिरोध गरेका हुन् ।
स्थानीयका अनुसार दशगजा क्षेत्र आसपास कुनै पनि स्थायी भौतिक संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय प्रावधान भए पनि दशगजाबाट करिब ३० देखि ४० मिटर दूरीमा बाँध निर्माण तथा स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ। मर्मतको नाममा बाँधको उचाइ थप बढाइँदैछ भने पानी निकासका लागि प्रयोग हुने साइफन समेत बन्द गर्न लागिएको आरोप लगाइएको छ।
रौतहटका समाजसेवी महमद अजादले यस कार्यले पानीको प्राकृतिक बहाव अवरुद्ध भई गौर पुनः गम्भीर डुबानमा पर्ने निश्चित रहेको बताए। उनका अनुसार वडा अध्यक्ष, नगर प्रमुख, जिल्ला प्रशासन कार्यालय तथा सशस्त्र प्रहरी बल लगायत सम्बन्धित निकायलाई जानकारी गराए पनि हालसम्म कुनै सुनुवाइ भएको छैन।
‘हामीले सबै निकायलाई जानकारी गरायौं, तर कसैले चासो देखाएन। यसले हामीलाई थप चिन्तित बनाएको छ,’ अजादले भने।
स्थानीय बासिन्दाले समयमै निर्माण कार्य रोक्न पहल नगरिए आगामी वर्षायाममा गौर पुनः ठूलो जोखिममा पर्ने चेतावनी दिएका छन्। साथै, यस विषयमा सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरू मौन बसेको आरोप समेत लगाइएको छ।
यस सम्बन्धमा सरोकारवाला निकायको आधिकारिक धारणा आउन बाँकी छ। स्थानीयले तत्काल स्थलगत अनुगमन गरी विवादित निर्माण कार्य रोक्न र दीर्घकालीन समाधान खोज्न माग गरेका छन्।