आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । आकर्षक तलबको लोभ देखाई विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा महोत्तरी सम्सी गाउँपालिका-१ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्दै आएका ४१ वर्षीय जटाधर राउत, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-३ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने ४१ वर्षीय ठमराज नेपाली परियार र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३९ वर्षीय रामकुमार राई रहेका छन्।

प्रहरीका अनुसार जटाधरले बेलायत र रोमानिया पठाइदिने भन्दै पाँच जना पीडितबाट करिब ८० लाख रुपैयाँ असुलेका थिए। त्यस्तै ठमराज र रामकुमारले युएई पठाइदिने प्रलोभन देखाई एक जना पीडितबाट २ लाख ८० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले जटाधरलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२, ठमराजलाई काठमाडौं महानगरपालिका-१२ र रामकुमारलाई ललितपुर महालक्ष्मी नगरपालिका-३ बाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सिफारिस