काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिका-११ स्थित पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मडाहा पुल नजिक बिहीबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।कटारीबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ४ ख ५७६ नम्बरको बस दुर्घटना हुँदा तीन नाबालक र आठ महिलासहित १८ जना घाइते भएका हुन्।
गुडिरहेको अवस्थामा बसको स्टेरिङ अकस्मात् फेल भई सडकबाट करिब १० फिट तल खसेको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक कार्यालय बर्दिबासका निरीक्षक बाबुराम कार्कीका अनुसार बसमा २७ जना यात्रु सवार थिए।
दुर्घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। घाइतेहरूलाई बर्दिबास-१ स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको बताइएको छ। सामान्य चोट लागेका केही घाइते उपचारपछि घर फर्किएका छन्।
अस्पतालका व्यवस्थापक दीपेन्द्र ढकालका अनुसार घाइतेहरूको टाउको, हातखुट्टा र छातीमा चोट लागेको छ। घाइतेहरू अधिकांश कटारी, सर्लाही र धनुषाका रहेका प्रहरीले जनाएको छ।