ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुर शाखा आजदेखि ३४औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसका अवसरमा शाखाका अध्यक्ष रामहरि कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सदस्य, पूर्वअध्यक्ष, सल्लाहकार तथा शुभेच्छुकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष कार्कीले शाखालाई स्थापना कालदेखि हालसम्मको अवस्थामा पु¥याउन योगदान गर्ने अग्रजहरूको उच्च सम्मान गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा सरिक भई प्रेस स्वतन्त्रताको लडाइँका क्रममा सहादत प्राप्त गरेका पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै आन्दोलनका क्रममा बेपत्ता तथा घाइते भएका पत्रकारहरूको स्मरण गरेका छन् ।
उनले महासंघले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हकहित, स्वतन्त्र पत्रकारिताको संस्थागत विकास, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । प्रतिकूल परिस्थितिमा पनि अग्रजहरूले देखाएको मार्गबाट विचलित नभई महासंघको उद्देश्य प्राप्तिमा सशक्त रूपमा लागिरहनुपर्ने आवश्यकता औंल्याए ।
अध्यक्ष कार्कीले महासंघ मुलुकमा संघीयताको अभ्यास गर्ने पहिलो लोकतान्त्रिक संस्था भए पनि तीनै तहका सरकारले आवश्यक ध्यान नदिँदा सञ्चार क्षेत्रले संघीयताको अनुभूति गर्न नसकेको बताए । संविधान जारी भई दुई आवधिक निर्वाचन सम्पन्न भइसके पनि मिडिया सम्बन्धी कानुन तीनै तहमा निर्माण हुन नसक्नु दुःखद् रहेको उनको भनाइ छ । यस सन्दर्भमा प्रेसमैत्री कानुन निर्माणका लागि निरन्तर खबरदारी र दबाब आवश्यक रहेको उनले जोड दिए ।
कोभिड–१९ पछिको आर्थिक सङ्कटले पत्रकारिता क्षेत्र गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै कार्कीले धेरै सञ्चारमाध्यम बन्द हुनुका साथै सञ्चारकर्मीले रोजगारी गुमाउनु परेको बताए । परम्परागत मिडियामा विज्ञापन बजार खुम्चिएको र डिजिटल प्लेटफर्मतर्फ रुपान्तरण भएको उल्लेख गर्दै उनले स्थानीय र प्रदेश सरकार अझै प्रेसमैत्री बन्न नसकेको टिप्पणी गरे । आमसञ्चार माध्यममार्फत प्रवाह गर्नुपर्ने सूचना विज्ञापन कार्यालय र सामाजिक सञ्जालमा सीमित गरिँदा सञ्चारमाध्यम आर्थिक रूपमा कमजोर बनेको उनको भनाइ छ ।
पत्रकारहरूले नियमित पारिश्रमिकका लागि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताजनक रहेको बताउँदै उनले श्रमजीवी पत्रकारको पेशागत अधिकार सुनिश्चित गर्दै सञ्चार संस्थाको सवलीकरणका लागि रणनीतिक योजना आवश्यक रहेको धारणा राखे । यी समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारको अभिभावकीय भूमिका अपरिहार्य रहेको उनले उल्लेख गरे ।
प्रविधिको तीव्र विकासले पत्रकारितामा अवसर र चुनौती दुवै सिर्जना गरेको उल्लेख गर्दै अध्यक्ष कार्कीले पत्रकारहरूले समयानुकूल ज्ञान, सीप र क्षमतामा अभिवृद्धि गरी इन्टरनेटको सदुपयोगमार्फत पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने बताए । प्रविधिमैत्री पत्रकारिताका लागि आवश्यक वातावरण निर्माण गर्न तीनै तहका सरकारलाई उनले ध्यानाकर्षण गराए ।
स्थापना दिवसका अवसरमा अध्यक्ष कार्कीले पत्रकारिता क्षेत्रको गरिमा, जिम्मेवारी र समाजले गरेको अपेक्षा पूरा गर्न सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताएका छन् ।