रञ्जित तामाङको भिजन पेपर : ‘झापा-५ भिजन-७’

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का झापा-५ का उम्मेदवार रञ्जित तामाङले ‘झापा-भिजन-७’ नामक भिजन पेपर सार्वजनिक गरेका छन्।

दमकमा आयोजित कार्यक्रममा तामाङले झापा-५ को समग्र विकासका लागि सात वटा मुख्य भिजन, ३५ मिसन र २१ लक्ष्य समेटिएको दस्तावेज सार्वजनिक गरेका हुन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, उद्योग तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताएका छन्।

भिजन पेपरमा सामुदायिक विद्यालयहरूको स्तरोन्नति, प्राविधिक तथा उच्च शिक्षाको विस्तार र स्थानीय तहमा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । स्वास्थ्यतर्फ आधुनिक सुविधासम्पन्न अस्पताल स्थापना गर्ने तथा ग्रामीण भेगसम्म आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने योजना समावेश गरिएको छ।

कृषि र उद्योग प्रवर्द्धनमार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको तामाङले बताए। सहकारीमार्फत उत्पादन र बजारीकरण सुदृढ गर्ने, औद्योगिक ग्राम स्थापना गर्ने तथा साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने कार्यक्रम भिजनमा समेटिएको छ।

पूर्वाधार विकास अन्तर्गत सडक स्तरोन्नति, व्यवस्थित सहरी विकास, व्यवसायिक कम्प्लेक्स निर्माण र विभिन्न ‘गौरव आयोजना’ सञ्चालन गरिने उल्लेख गरिएको छ। पाँच वर्षभित्र उल्लेखनीय संख्यामा विकास आयोजना सम्पन्न गरी झापा-५ लाई योजनाबद्ध, समावेशी र दीगो विकासको नमुना क्षेत्र बनाउने तामाङले प्रतिबद्धता व्यक्त गरे।

झापा-५, का मतदातामाझ विकास एजेण्डालाई प्राथमिकतामा राख्दै तामाङले समर्थनको अपिल गरेका छन्।

सिफारिस