पोर्चुगल नक्कली स्ट्याम्प प्रकरणः नेपालीहरु कानुनी संकटमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पोर्चुगलमा बसोबास तथा रोजगारी गरिरहेका करिब दुई हजार नेपाली नक्कली प्रमाणीकरण (अथेन्टिकेशन) स्ट्याम्प प्रयोग भएको भन्दै गम्भीर कानुनी संकटमा परेका छन्। पोर्चुगलका आप्रवासन अधिकारीहरूले अस्थायी बसोबास अनुमतिका लागि पेश गरिएका कागजातमध्ये केहीमा जालसाजी देखिएपछि प्रक्रिया रोक्दै आवश्यक कानुनी कारबाही अघि बढाएका छन्।

टिआरसी आवेदनका लागि अनिवार्य मानिने प्रहरी क्लियरेन्स प्रमाणपत्र (पिपिसी)मा प्रयोग गरिएका दूतावासीय प्रमाणीकरण स्ट्याम्प नक्कली रहेको प्रारम्भिक जाँचले देखाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सुरुमा करिब १,२५० जनाको कागजात शंकास्पद भेटिएको थियो। पछिल्लो विवरणअनुसार प्रभावितको संख्या बढेर दुई हजार नजिक पुग्न सक्ने अनुमान गरिएको छ।

पीडितहरूका अनुसार उनीहरूले नेपाल प्रहरीबाट वैध रूपमा पिपिसी प्राप्त गरेका थिए। तर त्यसमा राखिएको दूतावासीय स्ट्याम्प र हस्ताक्षर नक्कली ठहरिएपछि उनीहरूको बसोबास अनुमति प्रक्रिया अन्योलमा परेको बताइएको छ ।

दूतावासीय सेवा केही समय अवरुद्ध रहेको अवधिमा केही बिचौलियाले शुल्क लिएर कागजात प्रमाणीकरण गरिदिने प्रस्ताव गरेका थिए। ती बिचौलियामार्फत तयार गरिएका कागजातमा नक्कली स्ट्याम्प प्रयोग भएको आशंका गरिएको छ। धेरै नेपालीले आफूहरू ठगीको शिकार भएको दाबी गरेका छन्।

नक्कली कागजात प्रयोग गरेको पुष्टि भएमा टिआरसी आवेदन अस्वीकृत हुने, देश छाड्न निर्देशन आउन सक्ने, गम्भीर अवस्थामा जरिवाना, कैद वा निर्वासन (डिर्पोटेशन) हुन सक्ने प्रावधान रहेको बताइन्छ।

केही प्रभावितहरूले तोकिएको समयभित्र देश नछाडेमा थप कानुनी कारबाही हुन सक्ने चेतावनी पाएको बताएका छन्।

लिस्बनस्थित नेपाली दूतावासले घटनाबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। दूतावासका अधिकारीहरूले वास्तविक पीडितलाई राहत दिन मानवीय आधारमा समाधान खोज्ने प्रयास भइरहेको बताएका छन्। नेपाल सरकारसँग पनि कूटनीतिक तहमा संवाद भइरहेको जनाइएको छ।

पोर्चुगल पछिल्ला वर्षहरूमा नेपालीका लागि प्रमुख रोजगारी गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ। ठूलो संख्यामा नेपाली टिआरसी प्रक्रियामा रहेका बेला यो प्रकरण सार्वजनिक भएपछि समुदायमा त्रास फैलिएको छ।

प्रभावितहरूले आफूहरू जानाजान जालसाजीमा संलग्न नभएको दाबी गर्दै पुनः आवेदन दिन अवसर र कडा कारबाही स्थगनको माग गरेका छन्।