
Compressed by jpeg-recompress
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दल तथा उम्मेदवारलाई विस्तृत निर्देशन जारी गरेको छ। आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित संघीय कानूनको पूर्ण पालना गर्न सबै दललाई आग्रह गरेको हो।
आयोगले निर्वाचनको सिलसिलामा कसैलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट वञ्चित गराउने, डर-त्रास देखाउने, हातहतियार प्रदर्शन गर्ने, आर्थिक प्रलोभन दिने, सामाजिक बहिष्कार गर्ने वा धार्मिक आधारमा प्रभाव पार्ने जस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारेको छ।
प्रचारप्रसारमा कडाइ:
आयोगका अनुसार जुलुस, आमसभा, कोणसभा, घरदैलो लगायतका कार्यक्रम तोकिएको अवधिभित्र मात्र गर्न पाइनेछ। मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने जनाइएको छ। सामाजिक सञ्जाल, अनलाइन, छापा वा विद्युतीय माध्यमबाट समेत प्रचारप्रसार गर्न नहुने उल्लेख गरिएको छ।
प्रचार सामग्रीको हकमा तोकिएको मापदण्डभन्दा बाहेक पोस्टर, ब्यानर, डिजिटल डिस्प्ले, भित्तेलेखन तथा फ्लेक्स बोर्ड प्रयोग गर्न रोक लगाइएको छ। धार्मिक, ऐतिहासिक, सरकारी वा सार्वजनिक स्थलमा प्रचार सामग्री टाँस्न नपाइने व्यवस्था गरिएको छ।
आर्थिक पारदर्शिता अनिवार्य:
उम्मेदवारले निर्वाचन खर्च बैंक वा वित्तीय संस्थामार्फत मात्र गर्नुपर्ने र २५ हजार रुपैयाँभन्दा बढी सहयोग प्राप्त गर्दा छुट्टै बैंक खाता खोली सोही खाताबाट कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ। आयोगले खर्चको बिल, भरपाई तथा खाताको विवरण मागेमा अनिवार्य पेश गर्नुपर्नेछ। तोकिएको खर्च सीमा नाघ्न नहुने पनि स्पष्ट गरिएको छ।
निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आम्दानी तथा खर्चको विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने आयोगद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
सवारी साधन र सभा व्यवस्थापनमा नियन्त्रण:
निर्वाचन अधिकृतको अनुमति बिना सवारी साधन प्रयोग गर्न नपाइने, एक उम्मेदवारका नाममा लिइएको अनुमति अर्कोले प्रयोग गर्न नपाइने तथा मतदाता ओसारपसार गर्न कडाइ गरिएको छ। सभा, जुलुस तथा कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने व्यवस्था छ।
मतदान केन्द्र वा मतगणना स्थल वरिपरि हातहतियार, विष्फोटक वा कुनै पनि प्रकारका हतियार प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। मतदान केन्द्रमा मतदाता र अनुमति प्राप्त व्यक्तिबाहेक अरूलाई प्रवेश निषेध गरिएको छ।
घृणा, विद्वेष र बालबालिका प्रयोगमा रोक:
आयोगले धर्म, जातजाति, वर्ग, क्षेत्र वा समुदायबीच द्वेष फैलाउने, हिंसा भड्काउने वा राष्ट्रिय एकता र सार्वभौमिकतामा आँच पुग्ने खालका गतिविधि नगर्न चेतावनी दिएको छ। बालबालिकाको प्रयोग गरी प्रचारप्रसार गर्न नपाइने र ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिको सम्मानमा आँच आउने सामग्री प्रयोग गर्न रोक लगाइएको छ।
वातावरणमैत्री प्रचारप्रसारमा जोड:
प्रचार कार्यक्रमपछि प्रयोग भएका सामग्री अनिवार्य रूपमा व्यवस्थापन गर्नुपर्ने र प्लास्टिक तथा पोलिथिन जस्ता अजैविक सामग्री प्रयोग नगर्न आग्रह गरिएको छ। हरित निर्वाचनलाई सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न दलहरूलाई प्रोत्साहित गरिएको छ।
आयोगले आचारसंहिता उल्लङ्घन भएमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन कार्यालय वा स्थानीय प्रशासनमा उजुरी दिन सकिने व्यवस्था रहेको जनाएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालाले निर्देशनको पालना गर्नुपर्नेमा आयोगले जोड दिएको छ।