काठमाडौं । नेपाली सेना ले २६३औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आइतबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह सम्पन्न गरेको छ। कार्यक्रममा सैनिक परेड, तोप तथा राइफल बढाइँ, युद्धकला प्रदर्शन र सांगीतिक प्रस्तुतिहरू समावेश थिए।
तर, सो अवसरमा अमेरिकी र भारतीय सैनिक ब्याण्डले सांगीतिक प्रस्तुति दिएको भन्दै विदेशी सैनिक ब्याण्डको उपस्थितिलाई लिएर सामाजिक सञ्जाल तथा केही राजनीतिक वृत्तमा बहस सुरु भएको छ।
केहीले यसलाई राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोड्दै प्रश्न उठाएका छन् भने अर्का पक्षले यसलाई मित्र राष्ट्रहरूबीचको सैनिक कूटनीतिक सम्बन्धको निरन्तरता भएको तर्क गरेका छन्।
यद्यपी, यस्तो अभ्यास बिगतमा समेत हुने गरेको जानकारहरु बताउउँछन् । विगतमा पनि भारतीय तथा बेलायती सैनिक ब्याण्डहरूले टुँडिखेलमा प्रस्तुति दिएका उदाहरण छन्। जानकारहरूका अनुसार यस्ता कार्यक्रम सैनिक कूटनीति सुदृढ गर्ने र पारस्परिक सम्मान अभिव्यक्त गर्ने माध्यमका रूपमा लिइन्छन्।
नेपाली सेनाले भने यस कार्यक्रमलाई मित्र राष्ट्रबीचको सहकार्य र परम्परागत सम्बन्धको प्रतीकका रूपमा व्याख्या गरेको छ।
नेपाली सैनिकका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अमेरिका, भारत, पाकिस्तान, माल्दिभ्स र भूटानबाट सैनिक टोली सहभागी भएको जानकारी दिए। आपसी निमन्त्रणाको आधारमा उनीहरु सहभागी हुने र ‘मिलिट्री टु मिलिट्री’ सहकार्य अन्तर्गत सेना दिवसमा भाग लिने विश्वव्यापी प्रचलन रहेको उनले बताए ।
नेपाल र भारतबीच लामो समयदेखि घनिष्ठ सैनिक सहकार्य रहँदै आएको र दुवै देशका सेना प्रमुखलाई मानार्थ ‘जनरल’ पदवी प्रदान गर्ने परम्परा पनि कायम रहेको बताइएको छ। त्यसैगरी नेपाल र अमेरिकाबीच संयुक्त सैन्य अभ्यास र तालिम आदान–प्रदान हुँदै आएको समेत बताइएको छ।
