रास्वपाको निर्वाचन लक्षित ‘करार पत्र’: सुशासनदेखि प्रवासी अधिकारसम्म पाँच वर्षभित्र लक्ष्य पूरा गर्ने प्रतिबद्धता

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। पार्टीले घोषणा पत्रलाई ‘रास्वपा करार पत्र’ नाम दिएको छ ।

पार्टीले सार्वजनिक गरेको करार पत्रमा सुशासन, मध्यम वर्ग विस्तार, रोजगारी सिर्जना, पूर्वाधार विकास र प्रवासी नेपालीको अधिकारलाई मुख्य प्राथमिकतामा राखिएको छ। रास्वपाले पाँच वर्षभित्र उल्लेखित लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाउँदै असफल भएमा राजनीतिक जवाफदेहिता स्वीकार गर्ने उल्लेख गरेको छ।

सुशासन पहिलो प्राथमिकता

करार पत्रमा भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेन्डा बनाइएको छ। नीतिगत र संरचनागत सुधारमार्फत भ्रष्टाचारविरुद्ध ‘महाअभियान’ सञ्चालन गर्ने, सरकारी सेवाको डिजिटल डेलिभरी प्रणाली विस्तार गर्ने तथा पारदर्शी शासन प्रणाली स्थापना गर्ने लक्ष्य राखिएको छ। करार पत्रमा सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो र पारदर्शी बनाउने प्रतिबद्धता समेत गरिएको छ।

मध्यम वर्ग विस्तारको लक्ष्य

रास्वपाले न्यून प्रतिव्यक्ति आय, गुणस्तरीय स्वास्थ्य र शिक्षामा सीमित पहुँच तथा आर्थिक असमानतालाई वर्तमान चुनौतीका रूपमा चित्रण गरेको छ। पाँच वर्षभित्र औसत वार्षिक प्रतिव्यक्ति आय उल्लेखनीय रूपमा वृद्धि गर्ने, गुणस्तरीय स्वास्थ्य र शिक्षामा सर्वसुलभ पहुँच पुर्‍याउने तथा सामाजिक सुरक्षा प्रणाली सुदृढ गर्ने लक्ष्य करार पत्रमा समेटिएको छ। आधुनिक बैंकिङ सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने योजना समेत उल्लेख छ।

रोजगारी सिर्जना र श्रम व्यवस्थापन

रास्वपाले बेरोजगारी र वैदेशिक पलायनलाई गम्भीर समस्या भन्दै स्वदेशमै रोजगारी सिर्जनामा जोड दिएको छ। आईटी, निर्माण, पर्यटन, कृषि, स्वास्थ्य तथा सेवा क्षेत्रमार्फत ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने लक्ष्य सार्वजनिक गरिएको छ। वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने प्रतिबद्धता पनि करार पत्रमा उल्लेख छ।

पूर्वाधार र कनेक्टिभिटी

गुणस्तरीय सडक सञ्जाल, भरपर्दो ऊर्जा आपूर्ति र तीव्र गतिको इन्टरनेट विस्तारलाई आर्थिक प्रतिस्पर्धाको आधार मानिएको छ। सबै स्थानीय तहमा विद्युत् र डिजिटल पूर्वाधार विस्तार गर्ने, राष्ट्रिय राजमार्ग स्तरोन्नति गर्ने तथा रणनीतिक महत्वका पूर्वाधार आयोजना सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ।

प्रवासी नेपालीको अधिकार

करार पत्रमा प्रवासी नेपालीको ज्ञान, सीप र पूँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने नीति लिइने उल्लेख छ। गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयलाई प्रभावकारी कार्यान्वयन गर्ने तथा विदेशमा रहेका नेपालीका अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

पार्टीले ‘राजनीतिक नैतिकता र पद’ को आधारमा काम गर्ने प्रतिवद्धता दोहोर्‍याउँदै करार पत्रमा उल्लेखित लक्ष्य पूरा गर्न नसके राजनीतिक रूपमा जवाफदेही हुने जनाएको छ। रास्वपाले यस दस्तावेजलाई परम्परागत घोषणा पत्रभन्दा फरक, नागरिकसँगको प्रत्यक्ष करारका रूपमा प्रस्तुत गरेको छ।

सम्बन्धित खबर

सिफारिस