बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी समीकरणमा नयाँ मोड आएको छ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार बासुदेव घिमिरेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
यादवले आइतबार पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिई एमाले उम्मेदवार घिमिरेलाई जिताउन सक्रिय रूपमा लाग्ने बताए । ‘राष्ट्रको स्थिरता, विकास र समृद्धिका लागि एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णयमा पुगेको छु,’ यादवले भने, ‘क्षेत्रको दीर्घकालीन विकासका एजेन्डामा सहकार्य गर्ने समझदारी बनेपछि यो निर्णय लिएको हुँ ।’
उता एमाले उम्मेदवार बासुदेव घिमिरेले यादवको समर्थनले आफूलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिए । उनले क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना र कृषिमा आधुनिकीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता तथा समर्थन सम्बन्धी प्रक्रिया कानुनी प्रावधानअनुसार सम्पन्न हुने जनाएको छ ।
रुपन्देही-३ मा प्रमुख दलहरूबीच कडा प्रतिस्पर्धा रहने अनुमान गरिएको छ । यादवको समर्थनले चुनावी माहोलमा थप चासो र चर्चा थपिएको छ ।