काठमाडौं । निर्वाचन आयोगले भरतपुर-३ सम्बन्धी मतपरिणामबारे आधारहीन तथा भ्रामक समाचार प्रकाशन गरेको आरोपमा सेतोपाटी अनलाइन पत्रिकाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।
आयोगद्वारा जारी पत्रअनुसार भरतपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोबिता गौतमले चुनाव जितिसकेको र रेणु दाहाल दोस्रो स्थानमा रहेको भन्ने आशयको समाचार प्रकाशित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले उक्त समाचारले चुनावी माहोल र मतगणना प्रक्रिया नै प्रभावित पार्ने तथा सर्वसाधारणमा भ्रम सिर्जना गर्ने अवस्था देखिएको उल्लेख गरेको छ।
पत्रमा निर्वाचनसम्बन्धी प्रचलित कानुनअनुसार आधिकारिक नतिजा घोषणा गर्ने अधिकार आयोगमा निहित रहेको स्पष्ट पारिएको छ। मतगणना कार्य सम्पन्न नभई वा आयोगबाट औपचारिक घोषणा नभई विजयी घोषणा गर्ने प्रकृतिका सामग्री प्रकाशन तथा प्रसारण नगर्न आयोगले सञ्चारमाध्यमहरूलाई निर्देशन दिएको छ।
आयोगले सेतोपाटी अनलाइनलाई भविष्यमा यस्ता सामग्री प्रकाशन नगर्न सचेत गराउँदै प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने जनाएको छ। साथै, निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै सञ्चारमाध्यमलाई जिम्मेवार र तथ्यपरक समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ।