टुँडिखेलमा अमेरिकी सैन्य ‘परेड’बिरुद्ध विप्लव समूहद्वारा घोर भर्त्सना

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले टुँडिखेलमा अमेरिकी सेनाले परेड खेलेको भन्दै आपत्ति जनाएको छ। पार्टीका महासचिव विप्लव सी ले सोमबार एक वक्तव्य जारी गर्दै उक्त कार्यको घोर भर्त्सना गरेका हुन्।

पार्टीद्वारा जारी विज्ञप्तिमा फागुन ३ गते नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेल, काठमाडौंमा अमेरिकी सेनाले परेड खेलेको दृश्यले सिंगो नेपाली जनताको ध्यानाकर्षण गरेको उल्लेख गरिएको छ।

अमेरिकी हस्तक्षेपबारे विभिन्न विवाद चलिरहेको अवस्थामा नेपालका राजनीतिक दल तथा जनताको जानकारी र सहमति बिना रहस्यमय ढंगले विदेशी सेनाको परेड हुनु राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथिको गम्भीर खेलवाड भएको विज्ञप्तिमा उल्लेख छ।

वक्तव्यमा यस्तो कार्य गर्ने र गराउने दुवै पक्षको कडा शब्दमा भर्त्सना गरिएको छ। साथै घटनाबारे राज्यको आधिकारिक धारणा यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ।

पार्टीले देशको स्वाधीनता दिनप्रतिदिन खतरामा परेको दाबी गर्दै यस्ता गतिविधिप्रति सजग रहन र आवश्यक परे प्रतिरोधका लागि तयार रहन आम नेपाली जनतालाई आह्वान समेत गरेको छ।