रवि लामिछानेविरुद्धको ‘मुद्दा’ फिर्ता नहुने कास्की जिल्ला अदालतको आदेश

दियोपोस्ट संवाददाता  

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने कास्की जिल्ला अदालतले आदेश दिएको छ।

अदालतका न्यायाधीश नितिश राईको इजलासले सोमबार उक्त आदेश जारी गर्दै हाल विचाराधीन मुद्दा फिर्ता गर्ने आधार नदेखिएको जनाएको हो।

लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणसँग जोडिएको अभियोगपत्रमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको कसुर उल्लेख गरिएको छ।

यसअघि महान्यायाधिवक्ता कार्यालयको निर्देशनपछि सरकारी वकिलमार्फत केही आरोप फिर्ता लिने तयारी भएको चर्चा चलेको थियो। सोही आधारमा मुद्दा फिर्ता लिन निवेदन पेश गरिएको बताइए पनि अदालतले तत्काल त्यसमा सहमति नजनाएको हो।

लामिछानेविरुद्धको मुद्दा कास्की मात्र नभई अन्य जिल्लामा पनि दर्ता रहेको छ। यस प्रकरणमा सर्वोच्च अदालतमा समेत रिट निवेदन दायर भइसकेको र सुनुवाइ प्रक्रियामा रहेको जनाइएको छ।

यसअघि रूपन्देही जिल्ला अदालतले पनि रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो ।

कस्की अदालतको पछिल्लो आदेशसँगै लामिछाने विरुद्धको कानुनी प्रक्रिया यथावत् अघि बढ्ने भएको छ। मुद्दाको आगामी पेसी र थप सुनुवाइका आधारमा यसबारे थप निर्णय हुने अदालत स्रोतले जनाएको छ।

सिफारिस