सार्वजनिक शान्ति भंग गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको छ। उनका गतिविधि र अभिव्यक्तिले सार्वजनिक शान्तिमा असर पुगेको निष्कर्षसहित निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर, भद्रकालीलाई पत्राचार गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार प्रसाईंविरुद्ध सार्वजनिक शान्ति भंग गरेको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ। यस कसुरमा बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानूनी प्रावधान रहेको छ।

निर्वाचन आयोगले प्रसाईंलाई एकछिन पनि बाहिर राख्दा सार्वजनिक शान्तिमा गम्भीर असर पर्न सक्ने उल्लेख गर्दै तत्काल कारबाही गर्न पत्र पठाएको थियो। सोही पत्रका आधारमा उनलाई राति नै पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रवक्ता भट्टराईका अनुसार प्रसाईंलाई हिरासतमा राख्न आवश्यक म्याद थपका लागि कार्यालय समय सुरु भएलगत्तै जिल्ला अदालतमा उपस्थित गराइनेछ। यसअघि माघ ४ गते पोखरा बिमानस्थलबाट उनी पक्राउ परी हाजिरी जमानीम छुटेका थिए ।