काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा झापा अर्जुनधारा नगरपालिका-६ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्दै आएका ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, झापा अर्जुनधारा नगरपालिका-५ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ४२ वर्षीय गोविन्दप्रसाद निरौला तथा गोरखा गण्डकी गाउँपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१३ बस्ने ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार धर्मप्रसाद राईले अष्ट्रिया पठाइदिने भन्दै एक जनाबाट ५ लाख ८५ हजार रुपैयाँ लिएका थिए। त्यस्तै, निमा डोल्मा लामाले बेलायत पठाइदिने प्रलोभन देखाई दुई जनाबाट ५० लाख रुपैयाँ असुलेकी थिइन्।
गोविन्दप्रसाद निरौलाले टर्की पठाइदिने भन्दै दुई जनाबाट २ लाख ३ हजार रुपैयाँ र सुरजबहादुर श्रेष्ठले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट ७ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धर्मप्रसादलाई काठमाडौं महानगरपालिका-२६ र निमालाई काठमाडौं महानगरपालिका-६ बाट शुक्रबार पक्राउ गरेको हो। त्यसैगरी गोविन्दप्रसादलाई कागेश्वरी मनोहरा नगरपालिका-९ बाट तथा सुरजबहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।