प्रोस्टेट अपरेशनसंगै पेटको शल्यक्रिया गरिएको बारे पाटन अस्पतालले दियो लिखित जवाफ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालले धादिङ थाक्रे गाउँपालिका-५ का ७८ वर्षीय लक्ष्मण लामाको प्रोस्टेट अपरेशनका क्रममा पेट तथा आन्द्रामा गरिएको शल्यक्रियाबारे उठेका प्रश्नको लिखित स्पष्टिकरण दिएको छ। बिरामीका परिवारले अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकसंग चित्तबुझ्दो जवाफ माग गरेपछि अस्पतालले लिखित स्पष्टिकरण दिएको हो ।

यसअघि दियो पोष्टमा प्रोस्टेटको शल्यक्रियाका क्रममा पेटसमेत अपरेशन गरिएको विषयमा समाचार प्रकाशित भएको थियो ।

अस्पतालले प्रोस्टेट शल्यक्रियापछि पेटभित्र तरल पदार्थ जमेको शंका लागेपछि युएसजी (भिडियो एक्सरे) गरिएको र एक्सरे रिपोर्टमा तरल पदार्थ देखिएपछि बायाँ तल्लो पेटबाट नली राखी करिब २ सय एमएल सेरस तरल पदार्थ निकालिएको बताएको छ । अघिल्लो ठूलो शल्यक्रिया र त्यसबाट बनेको हर्नियाका कारण यस्तो जटिलता भएको अस्पतालको निष्कर्ष छ।

अस्पतालका अनुसार लामालाई सौम्य प्रोस्टेटिक वृद्धी (बीपीई) का कारण बारम्बार पिसाब रोकिने समस्या थियो। औषधि उपचार प्रभावकारी नभएपछि गत माघ ६ गते ट्रान्सयुरेथ्रल रिसेक्सन अफ प्रोस्टेट (टियुआरपी) गरिएको अस्पतालले जनाएको छ । करिब ६० मिनेटसम्म चलेको मोनोपोलर टियुआरपी सफलतापूर्वक सम्पन्न भएको अस्पतालको रिपोर्टमा उल्लेख छ ।

तर शल्यक्रिया सकिएलगत्तै बिरामीको पेट अस्वाभाविक रूपमा फुलिनुका साथै असहजता देखिएपछि तत्काल रेडियोलोजी परामर्श लिइएको बताइएको छ ।

उक्त रिपोर्टमा भनिएको छ, ‘अल्ट्रासोनोग्राफी (युएसजी) मा पेटभित्र तरल पदार्थ देखिएपछि बायाँ तल्लो पेटबाट नली राखी करिब २०० एमएल सेरस तरल पदार्थ निकालिएको थियो। त्यसपछि बिरामीलाई स्थिर अवस्थामा आईसीयूमा राखिएको थियो।’

शल्यक्रियापछि १०० एमएल तरल पदार्थ देखिएको र थप परीक्षण गरिएको थियो। युएसजीमा नलीको टुप्पो आन्द्राभित्र देखिएपछि ग्यास्ट्रोइन्टेस्टाइनल शल्यचिकित्सकसँग परामर्श गरी अन्वेषणात्मक ल्याप्रोटोमी (पेट खोलेर जाँच) गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार बिरामीको अघिल्लो शल्यक्रियाका कारण पेटभित्र ‘आन्द्रा टाँसिएको अवस्था’ रहेको र ठूलो चीरा हर्निया पनि भएकोले नली राख्ने क्रममा अनजानमा आन्द्रामा प्रवेश भएको हुन सक्ने निष्कर्ष निकालिएको छ।

ल्याप्रोटोमी गर्दा बायाँ इलियाक फोसामा सानो आन्द्रामा पर्फोरेशन भेटिएको थियो। पर्फोरेशन नजिकै पित्त संकलन देखिएको र सानो आन्द्रा तथा इ-कोलोनमा सानो सेरोसा चोटसमेत भेटिएको अस्पतालले जनाएको छ। ती सबै चोटको प्राथमिक मर्मत गरी बिरामीलाई इन्ट्युबेटेड अवस्थामा आईसीयूमा सारिएको अस्पतालले जनाएएको छ ।

शल्यक्रियापछि केही दिन बिरामीलाई बान्ता, दिसा नहुनुजस्ता समस्या देखिएको उपचाररत चिकित्सकले बताएका छन् । एक्स-रे र सिइसिटी परीक्षणले सबएक्यूट आन्द्रा अवरोधको संकेत गरेपछि बिरामीलाई एनपीओ (मौखिक रूपमा केही नदिने), नासोग्यास्ट्रिक ट्युबमार्फत डिकम्प्रेसन, केन्द्रीय भेनस क्याथेटर राखी कुल प्यारेन्टरल पोषण (टिपिएन) लगायतको व्यवस्थापन गरिएको अस्तपतालको रिपोर्टमा उल्लेख छ ।

दोहो¥याइएका मौखिक कन्ट्रास्ट अध्ययनमा कन्ट्रास्ट मलाशयसम्म पुगेको देखिएपछि अवस्था सुधारोन्मुख रहेको डाक्टरको भनाई छ । बिरामीले मल तथा फ्ल्याटस पास गर्न थालेपछि एनजी ट्युब हटाइएको र क्रमशः मौखिक तरल आहार सुरु गरिएको जनाइएको छ ।

टियुआरपी नमूनाको हिस्टोपाथोलोजिकल परीक्षणमा कुनै घातकता (क्यान्सर)को प्रमाण नदेखिएको अस्पतालले जनाएको छ।

आन्द्राको चोट चाँडै पहिचान गरी तत्काल ल्याप्रोटोमी र मर्मत गरिएको, पछि देखिएको सबएक्यूट आन्द्रा अवरोधसमेत सफलतापूर्वक व्यवस्थापन गरिएको र हाल बिरामीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार बिरामी सामान्य आहार सहन सक्ने अवस्थामा पुगेका छन् र डिस्चार्जको तयारी भइरहेको अस्पतालले जनाएको छ।

सिफारिस