काठमाडौं । बीच सडकमा वृद्धमाथि हातपात गर्ने कार चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय कार चालक पारस बम रहेका छन्। उनलाई ट्राफिक प्रहरीले बालुवाटार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
मंगलबार सामाजिक संजालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्ति कारबाट ओर्लेर सडकमा हिँडिरहेका वृद्धलाई झापड हानेको देखिएको थियो। भिडियो सार्वजनिक भएसँगै प्रहरीले ती व्यक्तिको खोजी तीव्र पारेको थियो।
प्रहरीका अनुसार बमले महाराजगञ्जस्थित सडकमा हिँडिरहेका एक वृद्धमाथि बा ३ च ११०३ नम्बरको कारबाट ओर्लेर हातपात गरेका थिए। घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
नियन्त्रणमा लिएपछि बमलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
भिडियोमा बमसँगै आएकी एक महिलाले पनि ती वृद्धलाई गालीगलौज गरेको देखिन्छ। प्रहरीले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।