न्यूवर्क । अमेरिकास्थित न्यूवर्कमा सम्पन्न मेट्रो ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप-२०२६ को ‘सवोत्कृष्ट पुरुष रेफ्री’ पुरस्कारबाट नेपालका सञ्जीव नेपाली सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय तेक्वान्दो जगतमा आवश्यक मानिने गुणहरूका कारण उनलाई विशेष पहिचान दिलाएको हो।
प्राविधिक उत्कृष्टता, नियमप्रतिको गहिरो निपुणता, उच्च प्रतिस्पर्धात्मक स्तरमा नेतृत्व क्षमता, तटस्थता र स्थिर निर्णय क्षमतालाई समेत नेपालीले उजागर गरेको आयोजकले जनाएको छ।
च्याम्पियनशिपको “सर्वश्रेष्ठ महिला रेफ्री” पुरस्कार लरेन ह्यान्ककलाई प्रदान गरिएको थियो। खेलाडी, प्रशिक्षक तथा आयोजकहरूले उनको अनुकरणीय निर्णय क्षमता र व्यावसायिक आचरणको व्यापक प्रशंसा गरेका थिए।
यसैगरी, अन्तर्राष्ट्रिय रेफ्री रिचर्ड पुहललाई खेलकुद क्षेत्रमा निरन्तर उत्कृष्टता र अन्तर्राष्ट्रिय योगदानका लागि “विशेष उत्कृष्ट रेफ्री” सम्मान प्रदान गरिएको थियो।
बलियो अन्तर्राष्ट्रिय सहभागिता, अत्याधुनिक स्कोरिङ प्रविधि र उत्कृष्ट रेफ्री प्रतिभाको उपस्थितिले २०२६ संस्करणलाई अझै प्रभावशाली बनाएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा ३०० भन्दा बढी खेलाडीहरूले फारम (पुम्से), स्पारिङ (क्योरुगी), ब्रेकिङ र हतियार विधामा प्रतिस्पर्धा गरेका थिए। दुई दिने च्याम्पियनशिपमा ओलम्पिक शैली तथा परम्परागत तेक्वान्दोका सम्पूर्ण विधाहरू समेटिएका थिए।
स्पारिङ खेलहरूमा पिएसएस (प्रोटेक्टर एन्ड स्कोरिङ सिस्टम) तथा पुम्से प्रतिस्पर्धामा पुम्से प्रो इलेक्ट्रोनिक स्कोरिङ प्रणाली प्रयोग गरिएको थियो।
युएसए तेक्वान्दो प्रिलिम तथा आधिकारिक यूएसएटिकेडी १०० रैंकिङ पोइन्ट इभेन्टको मान्यता प्राप्त यस च्याम्पियनशिपले संयुक्त राज्य अमेरिका तथा फराकिलो अमेरिकी क्षेत्रका उत्कृष्ट खेलाडी, प्रशिक्षक र अधिकारीहरूलाई आकर्षित गरेको थियो।
४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरूको सहभागितासहित सम्पन्न प्रतियोगिता प्रतिस्पर्धात्मक तेक्वान्दो क्यालेन्डरमा एक प्रमुख कार्यक्रमका रूपमा स्थापित भएको छ।
यस प्रतियोगिताले एथलेटिक प्रदर्शनको स्तर उकास्नुका साथै अमेरिकी क्षेत्रमा तेक्वान्दोको बढ्दो विश्वव्यापी प्रभावसमेत प्रदर्शन गरेको छ। आयोजकका अनुसार, यसले आफूलाई संयुक्त राज्य अमेरिकामा वर्षकै सबैभन्दा प्रतिष्ठित र प्रतिस्पर्धात्मक तेक्वान्दो प्रतियोगितामध्ये एकको रूपमा स्थापित गरेको छ।
