काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को मूल नारासहित आगामी राजनीतिक दिशा र विकासको खाका अघि सारेको छ। पार्टीले बुधबार जनकपुरमा आयोजित कार्यक्रममा प्रतिज्ञापत्र सार्वजनिक गरेको हो।
सम्मान र समृद्धिको लक्ष्य:
प्रतिज्ञापत्रमा नेपाली कांग्रेसले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कानूनको शासन, समान अवसर र भेदभावरहित समाज निर्माणलाई प्राथमिकतामा राख्दै पार्टीले जात, धर्म, लिङ्ग, वर्ग वा भूगोलका आधारमा हुने विभेद अन्त्य गर्ने लक्ष्य लिएको छ।
सपना देख्न र पूरा गर्न सक्ने वातावरण:
पार्टीले दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानीमुक्त सेवा प्रवाहमार्फत नागरिकलाई स्वदेशमै भविष्य देख्न सक्ने वातावरण बनाउने उल्लेख गरेको छ।
प्रतिज्ञापत्रमा युवाहरुलाई स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने तथा विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई राष्ट्रनिर्माणमा उपयोग गर्ने योजना अघि सारिएको छ।
रोजगारी, उत्पादन र आर्थिक पारदर्शिता
उद्यमशीलता, लगानी र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्दै साना–ठूला व्यवसायलाई राज्यले साथ दिने नीति प्रतिज्ञापत्रमा उल्लेख छ। श्रमिकको श्रमको उचित मूल्य, सामाजिक सुरक्षा र आर्थिक स्वच्छतालाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामा:
किसानलाई आधुनिक प्रविधि, बजार र उचित मूल्य सुनिश्चित गर्दै कृषि क्षेत्रलाई सम्मानित पेशाका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ।
स्वास्थ्य सेवामा गर्भावस्थादेखि वृद्धावस्थासम्मको जिम्मेवारी राज्यले लिने उल्लेख गर्दै विकसित देशको स्तरको स्वास्थ्य बीमा प्रणाली लागू गर्ने प्रतिबद्धता जनाइएको छ।
शिक्षालाई खर्च नभई लगानीका रूपमा परिभाषित गर्दै आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षाबाट वञ्चित नहुने वातावरण बनाउने घोषणा गरिएको छ। प्रविधिमैत्री र नवप्रवर्तनमुखी शिक्षा प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ।
सुशासन र डिजिटल रूपान्तरण:
पार्टीले विधिको शासन सुदृढ गर्दै राज्यका निकायमा दलीयकरण अन्त्य गर्ने, पारदर्शी नियुक्ति प्रणाली लागू गर्ने र ‘डिजिटल नेपाल’को अवधारणा कार्यान्वयन गरी भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। नागरिकले घरमै बसेर सरकारी सेवा पाउने व्यवस्था गर्ने उल्लेख गरिएको छ।
मौलिकता, परराष्ट्र नीति र समुन्नति:
नेपालको विविध भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्दै आधुनिकतासँग समन्वय गर्ने नीति अघि सारिएको छ। परराष्ट्र नीतिलाई राष्ट्रिय हित र सार्वभौमिक समानतामा आधारित बनाउने र नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि, खेलकुद र यातायात क्षेत्रमा तीव्र विकास गर्दै पूर्वाधार विस्तार गर्ने तथा पर्यावरणमैत्री अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन योजना पनि प्रतिज्ञापत्रमा समेटिएको छ।
नेपाली कांग्रेसले प्रतिज्ञापत्रलाई आगामी पाँच वर्षका लागि प्रारम्भिक कार्यदिशा मात्र नभई दीर्घकालीन समुन्नत नेपालको खाका भएको जनाएको छ।