चुनावमा पैसा बाँडेको होइन, जनताले नै मलाई चुनाव खर्च दिएका हुन् : महाबीर पून

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पूर्व शिक्षा मन्त्री तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेद्वार महाबीर पुनले घरदैलो कार्यक्रमका क्रममा स्थानीयबाट चुनाव खर्चका लागि आर्थिक सहयोग प्राप्त गरेको बताएका छन् । पूनले एक भिडियो सार्वजनिक गर्दै चुनाव प्रचारप्रसारका क्रममा विभिन्न स्थानका जनताले स्वेच्छिक रूपमा सहयोग रकम प्रदान गरिरहेको बताएका हुन्।

उनले भिडियोमार्फत भनेका छन्, ‘नेपालभरीका तथा विश्वभरी रहेका दाजुभाइ, दिदीबहिनीहरू, तपाईहरूलाई उदाहरण देखाउन खोजिरहेको छु। आजको चुनाव प्रचारप्रसार गर्ने क्रममा यहाँका जनताले चुनाव खर्च भनेर पैसा दान गर्नु भएको छ।’

यस्तो दान धेरै गाउँहरूमा गरेको उनले बताएका छन् । जनताले पैसा दिएको उदाहरणका रुपमा देखाएको भन्दै उनले जनतालाई पैसा नबाँडेको प्रष्ट पारेका छन् । ‘मैले जनतालाई पैसा बाँडेको होइन, जनताले नै मलाई चुनाव खर्च भनेर धेरै ठाउँमा दिइरहनु भएको छ,’ उनले भनेका छन् ।

उनले भिडियोमा स्थानीयवासीले खिर पकाएर खुवाएको तथा नगद सहयोग प्रदान गरेको उल्लेख गरेका छन्। उनले आफूले पैसा वितरण गरेको नभई जनताबाटै सहयोग प्राप्त भएको स्पष्ट पारेका छन्।

उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। समर्थकहरूले यसलाई जनस्तरबाट प्राप्त विश्वास र समर्थनको रूपमा व्याख्या गरेका छन् भने केहीले निर्वाचन आचारसंहितासँग सम्बन्धित विषय उठाउँदै चासो व्यक्त गरेका छन्।

हाल यस विषयमा सम्बन्धित निकायको औपचारिक धारणा सार्वजनिक भएको छैन।

सिफारिस