काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुलुकका वर्तमान समस्या समाधान गरेर मात्र प्रतिनिधि सभा सदस्य निर्वाचनमा जानु उपयुक्त हुने बताएको छ। चुनावी गतिबिधि तीव्र पारिसकेको राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार जारी गरेको भिडियो सन्देश पछि यस्तो धारणा सार्वजनिक गरेको हो ।
यद्यपी, राप्रपाले आगामी फागुन २१ हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभरि उम्मेद्वारी दिएको । चुनावी अभियान तीव्र पारिएको अवस्थामा राप्रपाले समस्या समाधान गरेर मात्रै चुनावमा जान सकिने भनेर अभिव्यक्ति दिनु चुनाव बिरोधी कदमका रुपमा लिइएको छ ।
पूर्व राजाको अभिब्यक्तिको विषयमा राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहिबार केन्द्रीय समिति बैठक बसेको थियो ।
बैठकको निर्णयले राजा ज्ञानेन्द्रको सन्देशमा व्यक्त विचारलाई राप्रपाले स्वागत र समर्थन गरेको जनाएको थियो ।
राप्रपाले पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ती मुलुकको वर्तमान यथार्थको प्रतिबिम्ब भएको र आम जनताको चाहनासँग मेल खाने बताएको छ । राप्रपाले भनेको छ, ‘पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ, र निर्वाचनपछि कुनै द्वन्द, अशान्ति वा खिचातानी नहोस्।’
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले निर्वाचनपूर्व राष्ट्रिय समस्याको समाधानका लागि समझदारी कायम गर्न सरकार र राजनीतिक दलहरूसँग आग्रह गरिएको बताए ।
उनले चुनावी अभियानको क्रममा पनि आम जनतालाई जागरुक तुल्याउँदै नवीन समझदारीको लागि दबाब दिने तयारी रहेको जानकारी दिए ।
राप्रपाले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर उम्मेदवारी दिंदै चुनावी अभियानलाई तीव्र बनाइसकेको छ। तथापि, पार्टीको अभिव्यक्तिले चुनावी रणनीति र देशको स्थिरताको बीच सन्तुलन कायम गर्ने संकेत गरेको छ।