काठमाडौं । काठमाडौँ-६ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका हिमाल शर्मा जनताको आवाज संसदमा पुर्याउने लक्ष्यका साथ घरदैलो गरिहेका छन्। उनी आफ्नो विद्यार्थी राजनीतिक यात्रा र सामाजिक अभियन्ताको अनुभवलाई अब संसदमा जनताको आवाज पुर्याउन प्रयोग गर्ने लक्ष्यमा छन्।
शर्मा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष रहँदै शिक्षा, मानवअधिकार र सामाजिक न्यायका सवालमा अग्रपंक्तिमा देखिएका थिए। यस अनुभवले उनलाई समावेशी, समाधानमुखी र जनमुखी नेतृत्व प्रदान गरेको छ।
उनले चुनावी एजेन्डामा युवा नेतृत्व सशक्त बनाउने, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार सिर्जना, र स्थानीय समस्याको व्यवहारिक समाधान जस्ता विषयहरू प्राथमिकतामा राखेका छन्। शर्मा भन्छन्, ‘हामीले सधैं चुनौतीहरू सामना गर्दै अगाडि बढेका छौं। अब हाम्रो लक्ष्य जनतासँग प्रत्यक्ष संवाद गरी उनीहरूको जीवनमा वास्तविक सुधार ल्याउनु हो।’
निर्वाचन नजिकिँदै गर्दा, शर्मा मतदातासँग घरदैलो, सार्वजनिक सभा र प्रत्यक्ष संवादमार्फत आफ्नो योजना साझा गरिरहेका छन्। समर्थकहरूले यसलाई नयाँ ऊर्जा र सकारात्मक परिवर्तनको अभियानको रूपमा स्वागत गरेका छन्।
