काठमाडौं । नेकपा (एमाले)का पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धर लगायत ७८ जना संगठित सदस्यहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्ने अन्य नेताहरूमा एमालेका पूर्व केन्द्रीय सदस्य दीपक केसी, रसुवा एमालेका पूर्व अध्यक्ष जनार्दन ढकाल तथा डा. प्रणयशम्शेर राणा रहेका छन्।
उनीहरूलाई कांग्रेस सभापति गगनकुमार थापा लगायतका पदाधिकारीले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै कांग्रेस नेताहरूले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्न विभिन्न पृष्ठभूमिका नेताहरू एकताबद्ध हुनु सकारात्मक कदम भएको बताएका छन्।
रामवीर मानन्धर यसअघि संविधानसभा सदस्य तथा संघीय संसद सदस्यका रूपमा कार्यरत रहिसकेका छन्। पछिल्लो समय एमालेसँग असन्तुष्टि जनाउँदै आएका उनी अन्ततः कांग्रेसमा प्रवेश गरेका हुन्।
यस प्रवेशलाई आगामी राजनीतिक समीकरण र संगठन विस्तारको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसले विभिन्न क्षेत्रबाट प्रभावशाली व्यक्तित्वहरूलाई पार्टीमा समेट्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ।
